हेमराज राई (बाया) र सत्यनारायण चौधरी (दायाँ)
विराटनगर : नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ प्रदेश १ बाट ६ जनालाई निर्वाचित गराउन सिफारिस गरेको छ ।
एमालेले आदीवासी जनजाति पुरुषबाट भोजपुरका हेमराज राई र झापाका कालुराम राईलाई सिफारिस गरेको छ । आदीवासी जनजातिचर्फ ताप्लेजुङकी उर्मिला थेवे, खसआर्य महिलातर्फ झापाकी सुनिता बराल, दलित महिलातर्फ झापाकी हर्कमाया विश्वकर्मा र मधेुसी पुरुषतर्फ झापाका अमृत राजवंशी समानुपनतिक संसद बन्ने भएका छन् ।
यस्तै एमालेले महिला संसद बढी छनोट गर्दा थारु कलष्टरको पहिलो नम्बरमा रहेका मोरङका सत्यनारायण चौधरी समानुपातिकमा अटाएका छैनन् । लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका चौधरी संसद बन्न नपाउँदा गत भदौमा मात्रै एमाले प्रवेश गरेका हेमराज राई संसद बनेका छन् ।
जनता समाजवादी पार्टी त्यागेर गत भदौ १ गते एमाले प्रवेश गरेका हेमराज राई समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका हुन् । जसपाको केन्द्रीय कार्यकारिणी सदस्य रहेका उनले २०६९ सालमा तत्कालीन एमाले उपाध्यक्ष अशोक राईसँगै पार्टी परित्याग गरेका हुन् ।
राई दस वर्षपछि एमाले फर्किएका थिए । एमाले फर्किएलगत्तै उनले संसद् प्रवेशको मौका पाएका छन् ।
योभन्दा रोचक त के छ भने उनी गत माघमा जसपाको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका थिए । तत्कालीन ५ दलीय सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राई एमालेका सोनाम ग्याल्जेन शेर्पासँग पराजित भए । देशभरि १९ सांसदका लागि भएको निर्वाचनमा गठबन्धनका तर्फ उम्मेदवार बनेका राई मात्रै पराजित भएका थिए।
उनी २०४८ र २०५१ सालमा एमालेको तर्फबाट खोटाङबाट विजयी भएका थिए । ०५५ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उद्योग मन्त्री थिए ।