Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मिडिया सञ्चालकबाट एमालेका समानुपातिक उम्मेदवार राठी अपहरणमा परेको खुलासा



विराटनगर : नेकपा एमालेका तर्फबाट प्रदेश १ का समानुपातिक उम्मेदवार रहेका विराटनगरका उद्योगी अरुणकुमार राठी अपहरणमा परेको खुलासा भएको छ । राठीले आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा अपहरण र शरिर बन्धक मुद्धामा जाहेरी दिएपछि उनी अपहरणमा परेको खुलासा भएको हो ।

नेपाल टाइम्स मिडिया प्रा.लि. का सञ्चालक शाहेनशाह भनिने अब्दुल खत्ताबले आफूलाई अपहराण गरेको राठीले दिएको जाहेरीमा उल्लेख छ । शाहले गत मंसिर १४ गते अन्तरवार्ताका लागि बोलाएर अपहरण गरेका हुन् । राठी सोही मिडियाका साझेदार समेत हुन् । त्यहाँ उनको २० प्रतिशत सेयर रहेको छ ।

एमालेबाट समानुपातिक उम्मेदवार रहेका कारण शाहले अन्तरवार्ताका लागि प्रस्ताव गरेपछि शाह स्वयम आफूलाई लिन आएको राठीले दिएको जाहेरीमा उल्लेख छ । ‘म नेकपा एमालेबाट प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार रहेको छु । उम्मेदवार घोषणा भएदेखिनै उक्त मिडियासँग सहकार्य गरेर काम गरिरहेको थिए । गत मंसिर १३ गते अन्तरवार्ता तथा समाचार बनाउनुपर्ने भएकाले लिन आउँछु भनि मंसिर १४ गते स्कुटरमा हालेर विराटनगर–६ स्थित ट्रान्स नेपाल फेड सर्भिस प्रालिको दोस्रो तल्लामा रहेको मिडियाको नयाँ कार्यालयमा लगेर केही भिडियो छायांकन गरी बाँकी भिडियो मिडियाको पूरानो कार्यालयको छतमा गर्ने भनि त्यहाँ लगेर अपहरण गरियो,’ उनले दिएको जाहेरीमा उल्लेख छ ।

गत मंसिर १४ गते विहान साढे ६ बजदेखि साढे १० बजेसम्म नेपाल टाईम्सको पुरानो कार्यालयमा शरिर बन्धक बनाई हातपात गर्दै १५ लाख रकम समेत अशुल गरेको राठीले आरोप लगाएका छन् ।

खत्ताबको समूहले बन्धक बनाएर आफूलाई ज्यान मार्नेसम्मको धम्की दिएको राठीले बताए । राठीमाथि खत्ताब समूहले कुटपिटसमेत गरेका थिए । कुटपिटबाट उनको ढाडमा चोट लागेको छ ।

खत्ताबको समूहले ज्यान मार्ने धम्की दिँदै आफूसँग एक करोडको बार्गेनिङ गरेको र ३० लाखमा कुरा मिलेको जाहेरीमा उल्लेख छ । ३० लाख दिएपछि छाड्ने सहमति भएपछि आफूले तत्काल १५ लाखको चेक दिने र बाँकी एक हप्ताभित्र दिने सहमति भएको जाहेरीमा उल्लेख छ । खत्ताबले उक्त चेक नेपाल टाइम्स मिडिया प्रा.लि. का नाममा काट्न लगाएका थिए ।

अपहरणबाट छुटेपछि मानसिक तनाव भएर दुई दिनसम्म घरमै चुपचाप बसेको राठीले बताए । जाहेरी दिएपछि पूर्वेलीप्रेससँगको सम्पर्कमा आएका राठीले भने, ‘दुई दिनसम्म मेरो मष्तिस्कले काम गरेन्, कसैलाई केही नभनि घरमै सुते र आज अलि ठिक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दर्ता गराएको छु ।’

यता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले अपहरण र शरिर बन्धक मुद्धामा जाहेरी भएको र आफूहरुले अनुसन्धान सुरु गरेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार