विराटनगर : प्रदेश १ का २८ निर्वाचन क्षेत्रबाट निर्वाचितमध्ये तीन जना १२० मतभन्दा कम मतान्तरले पराजित भएका छन् ।
पाचँथरमा नेकपा (एमाले) का वसन्तकुमार नेम्वाङ ४६ मतको झिनो अन्तरले विजयी भए । उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई पराजित गरेका हुन् । नेम्वाङ ३२ हजार १३५ मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी आङदेम्वेले ३२ हजार ८९ मत ल्याएका छन् ।
२०४८ र २०५६ को निर्वाचनमा उनी पाँचथरबाटै निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा उनले नेपाली कांग्रेसका आङदेम्वेलाई १० हजार बढी मतान्तरले पराजित गरेका थिए । त्यसबेला नेम्वाङले ३८ हजार ६४१ मत ल्याउँदा आङदेम्बे २८ हजार २५ मत ल्याएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए । उनी हाल नेकपा एमालेका केन्द्रीय सदस्य छन् ।
सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की पनि कम मतान्तरले विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गरेका हुन् ।
कार्की ३० हजार ४८३ मत ल्याई विजयी हुँदा कुसियैतले ३० हजार ३७१ मत ल्याएका छन् । २०५१ देखि भोजपुरबाट निर्वाचन लड्न थालेका कार्की २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
२०६३ सालमा उनले जलस्रोतमन्त्री २०६३ तथा २०७४ मा अर्थ मन्त्रीको जिम्मेवारी पुरा गरेका छन् । त्यसबेला उनी समानुपातिक संसद थिए । उनी हाल सरकार प्रवत्ता एवं सूचना,सञ्चार तथा प्रविधि मन्त्रीको जिम्मेवारीमा छन् ।
यस्तै, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले ११४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरेका छन् । नेम्वाङ ३० हजार २० मत ल्याई विजयी भएका हुन् । पराजित भएका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका छन् ।
२०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य भएका उनी २०५६ को प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट निर्वाचित भएका थिए । २०६४ र २०७० को संविधानसभा निवाएचनमा पनि उनी इलाम २ बाटै निर्वाचित भए । २०७४ को प्रतिनिधिसभामा अहिलेका प्रतिस्पर्धि खड्कालाई उनले पराजित गरेका थिए ।
नेम्वाङ २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख भएका थिए । २०६४ को व्यवस्थापिका संसदमा सभामुख भएका उनी संविधानसभा अध्यक्ष तथा २०६५ र २०७० सभामुख बने । २०७२ सालमा पनि उनी रुपान्तरित व्यवस्थापिका सभामुख भएका थिए । २०२८ सालदेखि राजनीतिमा क्रियाशिल रहेका उनी हाल नेकपा एमालेका उपाध्यक्ष छन् ।