विराटनगर : प्रदेश १ मा प्रत्यक्षतर्फ २५ सिट जित्दै नेकपा एमाले पहिलो पार्टी बनेको छ । २०७४ को निर्वाचनको तुलनामा भने यो सिट कम हो । गत मंसिर ४ गते भएको निर्वाचन अगाडि नै पूवेर्लीप्रेसले प्रदेश १ मा नेकपा एमालेले २५ देखि ३३ सिट जित्ने र पहिलो पार्टी बन्ने सर्वेक्षण गरेको थियो ।
गत मंसिर १ गते हामीले पूर्वेर्लीप्रेसमा ‘प्रदेश–१ मा एमाले पहिलो पार्टी बन्दै, सरकार बनाउने सम्भावना’ नामक शिर्षक दिएर समाचार प्रकाशन गरेका थियौँ ।
अहिले निर्वाचनपछिको नजिताका आधारमा हामीले गरेको सर्वेक्षण मिलेको छ । एमालेले प्रत्यक्षतर्फ २५ सिट जितेको छ । यस्तै नेपाली कांग्रेसले २६ ठाउँमा दिएको उम्मेवारीमध्ये १८ ठाउँ जित्ने हाम्रो सर्वेक्षण थियो । तर, कांग्रेसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ ।
यस्तै माओवादीले ९, एकीकृत समाजवादीले ३ र राप्रपाले प्रत्यक्षमा दुई सिट जितेको छ ।
त्यसबेला हामीले १४ जिल्लाका सय जना राजनीतिककर्मी, पत्रकार र अधिकारकर्मीहरुसँगको टेलिफोन तथा प्रत्यक्ष संवादमा गरेको कुराकानीमा नेकपा एमाले पहिलो पार्टी बन्ने र सरकार बनाउन सक्ने आँकलन गरेका थियौँ ।
प्रदेशमा एमालेको सरकार बन्ने बलियो स्म्भावना देखिएको छ । ५६ वटा प्रत्यक्ष प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा एमाले–राप्रपा–जसपाको गठबन्धनले २७ सिट जितेको छ । गठबन्धनका दलको सिट संख्याको आधारमा दुई सिट कम भएपनि समानुपातिकमा एमाले–राप्रपा–जसपा गठबन्धनको सिट संख्या बढी भएकाले प्रदेशमा एमालेको सरकार बन्ने सम्भावना बढेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा २९ सिट जितेको छ ।
५६ प्रत्यक्ष र ३७ समानुपातिक गरी ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ जना चाहिन्छ । एमालेलाई राप्रपा–जसपाले साथ दिँदा प्रदेशमा एमालेले बहुमत पाउने देखिन्छ ।
३७ समानुपातिक सांसदमध्ये एमाले १४, कांग्रेसले १२, राप्रपाले ४, माओवादी केन्द्रले ४, जनता समाजवादीले २ र एकीकृत समाजवादीले एउटा प्रदेश संसद प्राप्त गर्ने अवस्था देखिन्छ ।
प्रदेशमा एमालेबाट कहाँ को विजयी ?
प्रदेशमा प्रत्यक्षमा २५ सिट जित्दै एमाले पहिलो पार्टी बनेको छ । प्रत्यक्षमा नेकपा एमालेबाट पाँचकर्ण राई – खोटाङ १(१), जयप्रकाश चौधरी – मोरङ ४ (१), उमाकान्त गौतम – मोरङ १ (१), लिलाबल्लभ अधिकारी – मोरङ २(२), तिलकुमार मेन्याङ्बो – ताप्लेजुङ १(१), रामबहादुर राना – इलाम २(२), विदुरकुमार लिङ्थेप – संखुवासभा १(२), तिलचन पाठक – झापा २(२), छविलाल चुँडाल – झापा ३ (२), राधाकृष्ण खनाल – झापा ४(१), हिक्मतकुमार कार्की–झापा ५(१) होमबहादुर थापा – झापा ५(२), एकराज कार्की – झापा २(१), निरन राई – धनकुटा १(१), इन्द्रमणि पराजुली – धनकुटा १(२), निरन राई – धनकुटा १(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
यस्तै रेवती रमण भण्डारी–सुनसरी २(१), बुद्धिकुमार राजभण्डारी–सोलुखुम्बु किशोर चन्द्र दुलाल–तेह्रथुम १(१), ज्ञानेन्द्र सुवेदी–मोरङ ३(२), रमेशकुमार बस्नेत–सुनसरी १(१), रोहितबहादुर कार्की–सुनसरी ३(१), खड्गबहादुर बस्नेत–मोरङ १(२), विजयकुमार राई–सुनसरी १(२), रामप्रसाद महतो –सुनसरी २(२) र २५० रामदेव यादव–सुनसरी ३ (२) बाट निर्वाचित भएका छन् ।