Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश-१ मा एमाले पहिलो पार्टी बन्दै, सरकार बनाउने सम्भावना



विराटनगर : प्रतिनिधिसभा र प्रदेशको निर्वाचन आउन अब तीन दिन बाँकी छ । पछिल्ला चुनावी गतिविधि र प्रदेशका विभिन्न जिल्लाका पत्रकार तथा अधिकारकर्मी एवं राजनीतिज्ञहरुको अध्ययनका आधारमा एमाले पहिलो पार्टी बन्ने देखिएको छ ।

पूर्वेलीप्रेसले १४ जिल्लाका सय जना त्यस क्षेत्रका राजनीतिककर्मी, पत्रकार र अधिकारकर्मीहरुसँगको टेलिफोन तथा प्रत्यक्ष संवादमा गरेको कुराकानीमा नेकपा एमाले पहिलो पार्टी बन्ने सम्भावना रहेको र सरकार बनाउन सक्ने आँकलन गरेका छन् ।

सय जनामध्ये ६० जनाले एमाले पहिलो पार्टी हुने र उसकै नेतृत्वमा सरकार बन्न सक्ने बताए । अन्यले भने गठबन्धनका दलहरु ठुलो नभएपनि सरकार भने गठबन्धनकै बन्ने दावी गरे । प्रदेश १ मा ५६ वटा प्रत्यक्ष प्रदेशसभाका निर्वाचन क्षेत्र छन् । यी निर्वाचन क्षेत्रमा एमालेले ५२ जना उम्मेदवार उठाएको छ । त्यस्तै नेपाली कांग्रेसले २६, माओवादीले १९ र, एकीकृत समाजवादीले ११ सिटमा उम्मेदवार बनाएको छ ।

एमालेका नेताहरुको दावी अनुसार अहिले प्रत्यक्षतर्फ एमालेले न्यूनतम २५ र अधिकतम ३३ सिटसम्म जित्ने दावी गरेका छन् । कांग्रेसका नेताहरुले २६ मध्ये १८ सिट जित्ने दावी गरेका छन् । यस्तै माओवादीले ९ देखि ११, एकीकृत समाजवादीले अधिकतम ४ सिट, राप्रपा र जसपाले एक/एक सिट जित्ने आश गरेका छन् ।

मोरङमा एमालेले न्यूनतम ४ र अधिकतम ७, माआोवादीले दुई सिट, कांग्रेसले ४ सिटको न्यूनतम अनुमान गरेका छन् । यस्तै जसपाले पनि एक सिट जित्ने अनुमान गरेको छ ।

सम्बन्धित पार्टीका नेताहरुले चुनावको आँकलनबारे आफ्को नाम उल्लेख गर्न चाहेनन् । समानुपातिकतर्फ ३७ सिटमध्ये कसको कति आउँछ भन्ने अनुमान गर्न गाहो छ । समानुपातिकबाट सिट प्राप्त गर्न प्रदेशमा डेढ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

प्रदेशभर नजिकबाट अनुगमन गरिरहेका मानव अधिकारकर्मी सोमराज थापाले दलहरुको उम्मेदवारी र प्रदेशमा देखिएका चहलपहल र कुराकानीका आधारमा नेकपा एमाले पहिलो पार्टी बन्ने देखिएको बताए । उनले भने, ‘प्रदेश १ मा पहिले पनि एमाले पहिलो पार्टी भएको थियो । र अहिले पनि प्रदेशमा एमालेको राम्रो देखिएको छ ।’

यस्तै अर्का अधिकारकर्मी डिकप्रसाद घिमिरेले प्रदेशको चुनाव स्थानीय चासो र सरोकार हुने भएकाले संघको जस्तो नहुने बताए । त्यसैले यसमा गठबन्धनले नै के गर्छ भन्नेमा भर पर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अनलाइन खबरमा चुनावी विश्लेषण लेख्दै एमालेले प्रदेशमा सरकार बनाउन सक्ने सम्भावना औल्याएकाले पनि प्रदेशमा एमाले ठुलो पार्टी हुने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार