इनरूवा । पुन मतगणना हुनुपर्ने मागमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार तथा सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अडान नछाडेपछि सुनसरी ४ को मतगणना अनिश्चत बनेको छ ।
मतगणनामा धाधली भएको भन्दै कार्कीले निर्वाचन आयोगमा उजुरी दिएपछि स्थगित मतगणना पुन हुने या नहुने भन्ने अन्यौलमा परेको हो । उम्मेद्वार कार्कीले निर्वाचन आयोग समक्ष पुनः मतगणनाको माग गर्दै उजुरी दिएका छन ।
गणनाको क्रममा हुदै नभएको ६०६ मत एमाले तर्फ गनिएको भन्दै उम्मेद्वार कार्कीले आयोग समक्ष पुन मतगणना हुनुपर्ने माग सहित उजुरी दिएका हुन । उजुरी पश्चात निर्वाचन अधिकृतको कार्यालय सुनसरीले ततकाल मतगणनाको कार्यक्रम स्थगित गरी सर्वदलीय बैठक आवहान गरेको थियो ।
बैठकमा कांग्रेसले पुनःमतगणनाको अडान कायम राखेपछि सहमती हुन सकेको छैन । बैठकमा उपस्थित एमाले प्रतिनिधिहरूले भने हार्ने निश्चित भएपछि कांग्रेसका उम्मेद्वारले बखेडा झिकेको आरोप लगाउदै आएका छन । एमाले नेतृ लक्ष्मी गौतमले आफु पछि पर्ने भएपछि कांग्रेसले बखेडा झिकेको सामाजिक सञ्जालमै राखेकी छन् ।
यता सुनसरी क्षेत्र नं ४ भगवती मावीका निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार कांग्रेस उम्मेद्वार कार्कीले पुनः मतगणनाको माग गर्दै दिएको रिटबारे निर्वाचन आयोगको प्रधान कार्यालय काठमाण्डौमा पत्राचार गरिसकेको र उताबाट जवाफ तथा निर्देशन आएपछि मात्रै के गर्ने भन्ने जवाफ दिन सक्ने बताएका छन् ।