Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सात क्षेत्रमा मात्र मतगणना जारी, कहाँ–को अगाडि ?



विराटनगर। प्रतिनिधिसभाको प्रत्यक्ष अहिलेसम्म १५५ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ । अब १० क्षेत्रको मात्रै अन्तिम नतिजा आउन बाँकी छ । मत परिणाम आउन बाँकी रहेका १० क्षेत्रमध्ये दोलखा, स्याङ्जा २ र बाजुरामा अझै मतगणना शुरु हुन सकेको छैन ।
परिणाम आउन बाँकी ७ क्षेत्रमा भने मतगणना जारी छ । मतगणना चलिरहेका क्षेत्रमध्ये नेपाली कांग्रेसले ४, एमालेले २ र जसपाले १ क्षेत्रमा अग्रता कायम राखेको छ ।
मतगणना जारी रहेको इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पछि पार्दै एमालेका महेश बस्नेतले अग्रता कायम राखेका छन् । त्यहाँ बस्नेतले २४ हजार ३०४ मत पाउँदा खनालले २१ हजार ८०२ मत पाएका छन् ।
सुनसरी १ मा जसपाका अशोककुमार राईले १४ हजार ४२६ मत प्राप्त गरेर अग्रता बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १४ हजार २०८ मत सहित उनलाई पछ्याइरहेकी छन् । त्यसैगरी सुनसरी ३ मा एमालेकी भगवती चौधरीले १९ हजार ९८७ मत ल्याएर अग्रता कायम राख्दा कांग्रेसका विजयकुमार गच्छदारले १५ हजार २२३ मत ल्याएका छन् ।

सुनसरी ४ मा पनि मतगणना जारी छ । त्यहाँ कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २३ हजार ४३९ मत प्राप्त गरेर अग्रता कायम राख्दा एमालेका जगदिश प्रसाद कुसियैतले २३ हजार ३४१ मत प्राप्त गरेका छन्। यहाँ कार्की र कुसियैतबीचको मतान्तर ९८ मात्रै छ ।
उदयपुर १ कांग्रेसका नारायण खड्काले २१ हजार ८३३ मत ल्याएर अग्रता कायम राखेका छन् । एमालेकी मञ्जु चौधरीले २० हजार १२० मत ल्याएर उनलाई पछ्याइरहेका छन् । यस्तै धनुषा ४ मा कांग्रेसका महेन्द्र यादवले २१ हजार २२४ मत ल्याउँदा एमालेका रघुबीर महासेठले २० हजार २०३ मत ल्याएका छन् । रामेछापमा कांग्रसका पूर्णबहादुर तामाङले ४७ हजार ९८ मतसहित अग्रता कायम राखेका छन् भने एमालेका कैलाशप्रसाद ढुंगेलले ३० हजार ७२९ मत ल्याएका छन् । यहाँ तामाङको जित सुनिश्चित भइसकेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार