Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तेह्रथुमको आङ्दिम मतदान केन्द्रमा पुनः मतदान हुने



file photo

विराटनगर : तेह्रथुमको छथर गाउपालिका–१ आङ्दिम वडा कार्यालयको (ख) मतदान केन्द्रमा पुन मतदान हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपेटिकामा प्रतिनिधीसभाकै मतपत्रबाट मतदान भएपछि आइतबार भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मंगलबार पुनः मतदान गराउने निर्णय भएको निर्वाचन आयोगमा लेखी पठाएको छ । सो मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रदेशसभा सदस्यको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाकै मतपत्र दिएको खुलेको छ ।

मतदान केन्द्रको मुचुल्काका आधारमा यहां ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ । मुख्य निर्वाचन अधिकृत प्रेमश पोखरेलले सर्वदलीय, सर्वपक्षीय बैठकले बढी संख्यामा भएको मतपत्र संख्या समेत यकिन गरी गणना गर्न नसकिने निष्कर्ष निकाल्दै पुनःमतदान गर्न माग गरेको र सो निर्णय बमोजिम आयोगमा लेखी पठाएको बताएका छन् । सो केन्द्रमा ८४४ मतदाता थिए । त्यसमध्ये आइतबार ४५६ जनाले मतदान गरेका थिए । सो मतदान केन्द्रमा वृहस्पती गौतम मतदान अधिकृतको रुपमा खटीएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार