नवलपरासी । नवलपरासीमा एक जना मतदान अधिकृत बर्खास्तमा परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त परेका उनी प्रहरी नियन्त्रणमा छन् ।
नवलपरासी निर्वाचन क्षेत्र नंं. २ को सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
निर्वाचन सामग्री बुझ्ने क्रममा मादक पदार्थ सेवन गरेका उनले मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार देखाएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।५६ वर्षिय चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत हुन् ।
बर्खास्त परेका मतदान अधिकृत चौधरीको ठाउँमा वैकल्पिक मतदान अधिकृतलाई खटाइएको छ । नियन्त्रणमा रहेका चौधरीलाई मुख्य निर्वाचन अधिकृतको निर्देशनअनुसार कारबाही प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ ।