विराटनगर : मोरङको रंगेलीबाट सुन र चाँदीका गहनासहित प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार रंगेली नगरपालिका–४ स्थित सडक छेउबाट उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारतको अररिया कौवाकोह–४ बस्ने २८ वर्षीय कुमार यादव, अररिया कौवाकोह–३ बस्ने २५ वर्षीय सुरज कुमार यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कुमार यादव पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुको साथबाट १ तोला ४ आना ४ लाल सुनको एकथान नेक्लेस र एक जोर बाला, औंठी सहितको पन्जा एक जोर, एक जोर पाउजु र एक थान सिक्री गरी करिब ३१ तोला चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको ३ जना सवार मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रोक्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिले प्लाष्टिकको झोला सोही स्थानमा फाली फरार भएका थिए ।
उक्त झोला हेर्दा सुन तथा चाँदीको गरगहना फेला पारेको थियो । त्यसपछि मोटरसाइकलसहित फरार भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा रंगेली नगरपालिका–४ चोप्राह बोडर छेउबाट बिआर ३८ जेड १८८० नम्बरको मोटरसाइकलसहित घटनामा संलग्न उनीहरूलाई फेला पारीे पक्राउ गरेको प्रहरीले जनाएको छ ।