Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शेखर कोइरालालाई स्वतन्त्र उम्मेदवार खड्काको समर्थन



विराटनगर : मोरङ क्षेत्र नम्बर-६ का बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार दिएका सुशील खड्काले आफ्नो उम्मेदवारी निस्कृय बनाएका छन् । कोइराला निवासमा मंगलबार बिहान आयोजित संक्षिप्त कार्यक्रममा खड्काले कोइरालालाई सहयोग गर्ने घोषणा गर्दै उम्मेदवारी निस्कृय बनाएका हुन् ।

स्वतन्त्र युवा समूह गठन गरेर सामाजिक कार्य गर्दै आएका खड्का पछिल्लो समय सामाजिक कार्यमा सक्रिय छन् । युवा शक्तिको व्यवस्थापन, ३० लाख हेक्टर कृषि क्षेत्र निर्धारण, विराटनगरको कोशी राजमार्ग पश्चिमका वडाको समान विकासको पहुँच पु¥याउनेसहित राष्ट्रिय एजेण्डा उठाइदिने शर्तमा डा. कोइरालालाई समर्थन गरेको खड्काले जानकारी दिए ।

आफूले उठाएका एजेण्डाप्रति कोइराला गम्भीर भएकाले आफ्नो उम्मेदवारी निस्कृय बनाएको उनको भनाइ छ ।

केही दिनअघि बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी निस्कृय बनाएर कोइरालालाई सहयोग गर्ने घोषणा गरेका थिए । पासवान यतिबेला कोइरालाको चुनावी प्रचार अभियानमा सक्रिय छन् ।

‘राष्ट्रिय राजनीतिमा समेत हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने र युवाका मुद्दालाई संसदमा सशक्त रुपमा उठाउन सक्ने महसुस गरेर डा. शेखर कोइरालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी आजकै मितिबाट निस्कृय बनाएको सबैलाई जानकारी गराउँदछु,’ खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अब उहाँलाई जिताउन हामी सबै युवा आजैदेखि लागिपर्ने छौं ।’ खड्काले नेतृत्व गरेको समूहमा १५० भन्दा बढी युवाहरूको प्रत्यक्ष आबद्धता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार