Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मन्त्री खड्कालाई गंगादेवीले भनिन्, ‘ब्लडमनी’ तिर्दा पनि छोराको मुख हेर्न पाइनँ, किन भोट दिनु ?



मृत्त छोराको तस्बिर देखाउँदै गंगादेवी

उदयपुरकी ७३ वर्षीया गंगादेवी दाहाल यसपटक कुनै पनि नेतालाई मत दिने पक्षमा नरहेको बताउँछिन् ।


विराटनगर : चुनावको मिति नजिकिएसँगै दलहरुको रस्साकस्सीमा छन् । राजनीतिक दलका नेतादेखि स्वतन्त्र उम्मेदवारसम्म यतिबेला मत माग्त व्यस्त छन् । चुनावको सरगर्मीले माहौल तात्दै गएको छ । तर, उदयपुरकी ७३ वर्षीया गंगादेवी दाहाललाई चुनाव लागेको छैन् । उनीमाथि चुनावको रौनकता देखिँदैन ।

उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने चौदण्डीगढी नगरपालिका–४ बसाहा कालीखोलाकी ७३ वर्षीया दाहाल नेताहरु भोट दिएर जति जिताए पनि जनताको काम नगर्ने गुनासो गर्छिन् । उनी भन्छिन्, ‘जुन नेतालाई भोट दिए पनि के पाइँदो रहेछ र ? आपतविपतमा साथ कसैले दिँदैनन्, अहिले सबै गर्छु भन्दै भोट माग्न आउँछन् ।’

त्यसो त उनी नेताप्रति आक्रोशित हुनुको व्यथा छुट्टै छ । गंगादेवीका ४० वर्षीय छोरा विकेक दाहाल साउदीको जेलमा परे । विवेक हत्याको आरोपमा १५ वर्षदेखि साउदी अरबमा जेलजीवन बिताइरहेका थिए । उनलाई गत कात्तिक ६ गते साउदीको जुबेल जेलमा मृत्युदण्डको सजाय दिइयो ।

छोरालाई मृत्युबाट बचाउन गंगादेवीले धेरै नेतासँग गुहार मागिन् । यही क्षेत्रबाट निर्वाचन जितेर परराष्ट्रमन्त्री बनेका डा. नारायण खड्कालाई छोरो बचाइदिन अनुरोध गर्दा पनि वास्ता नगरेको उनको गुनासो छ । ‘हत्या अभियोगमा विगत १५ वर्षदेखि साउदी अरबको जेलमा रहेको ४० वर्षको (विवेक दाहाल) छोरा बचाउन सकिनँ । राष्ट्रपति, परराष्ट्रमन्त्रीसम्मलाई छोरो बचाइदिन अनुरोध गर्दा पनि कसैले सुनेनन्, के का लागि हामीले भोट दिनु?’ उनले प्रश्न गरिन् ।

छोरालाई मृत्युदण्डको सजाय दिएपछि गंगादेवीलाई कुनै नेताको मुख हेर्न मन छैन् । नेताहरुले चुनाव जितेपछि आफूहरुलाई बिर्सिने उनको भनाइ छ । छोरा स्म्झदैँ उनले भनिन्, ‘नेतालाई चुनावको बेला हाम्रै भोट चाहिन्छ तर हामीलाई आपतविपत् पर्दा बसैले हेर्दैनन्।’

चार छोरामध्ये विकेक गंगादेवीका कान्छा छोरा हुन् । अब उनीसँग छोराको फोटो बाहेक केही चिनो छैन् । मृत्त छोरोको तस्बिर देखाउँदै उनले भनिन्, ‘मेरो श्रीमान् (विवेका बुवा) को पनि छोरो भेट्ने आशमै तीन वर्षअघि मृत्यु भयो । कान्छो छोरो थियो । घर फर्काउन सकेनौँ । कोही नेताहरूले सहयोग गरेनन् ।’

‘ब्लडमनी’ तिर्दा पनि छोराको मुख हेर्न नपाएको उनको गुनासो छ । ‘परराष्ट्र मन्त्रालयले नै आममाफीको लागि ब्लडमनी तिर्न भन्यो । हामीले तिर्याैँ’, उनले भनिन्, ‘तर, मन्त्री खड्काले भेट दिएर अलि पहल गरिदिएको भए छोरो बाँच्ने थियो । उहाँले गरिदिनुभएन ।’

उनका बाँकी रहेका तीन छोरा पनि छुट्टिएर अलग्गै बसिसकेका छन् । कान्छो छोरो आउने आशामा बसेकी दाहाल भन्छिन्, ‘ब्लडमनी तिर्दा पनि छोरोको मृत्युको प्रमाणपत्र पाइएको छैन । मृत्युदण्ड दिएको खबर मात्र आएको छ । शव पाउने त कुरै छाडौँ ।’

मृतक दाहालका जेठा दाजु टेकबहादुर दाहालले बुवा पनि भाइसँग भेट्ने आशामै स्वर्गवास भएको बताए । उनले भने, ‘हामीले भाइलाई जीवितै नेपाल ल्याउने ठूलो कोसिस ग¥यौँ । १० लाखभन्दा बढी ब्लडमनी बुझायौँ । तर, पनि ल्याउन सकेनौँ ।’

उनका अनुसार मृतक विवेक जीवितै नेपाल ल्याउन झन्डै १५ लाख बढी परिवारले खर्च गरेको थियो । उनले भने, ‘परराष्ट्रमन्त्री हाम्रै जिल्ला– क्षेत्रको भए पनि विवेकलाई जीवितै ल्याउन सकेनौँ । खबरको भरमा काजकिरिया गर्नुप¥यो । मृत्युको प्रमाणपत्र कसरी पाउनु?’

दाहाललाई मृत्युदण्ड दिनुअघि परिवारलाई साउदीबाट जानकारी आएको उनले बताए । उनले भने, ‘शव भने नेपाल नपठाएर उतै गाडेको भन्ने खबर छ ।’

उदयपुरकी ७३ वर्षीया गंगादेवी दाहाल यसपटक कुनै पनि नेतालाई मत दिने पक्षमा नरहेको बताउँछिन् ।

विवेक वैदेशिक रोजगारीको सिलसिलामा सन् २००६ मा साउदी अरब पुगेका थिए । मृतक विवेकलाई सन् २००७ मा आफ्नै साथी राजेन्द्र विष्टको हत्या र सुडानी नागरिकमाथि हत्या प्रयासको आरोप लागेको थियो ।

अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेशलाई क्रिमिनल कोर्ट हुँदै सर्वोच्च अदालतबाट पनि सदर भएको थियो । दाजु टेकबहादुरले भने, ‘जेलमा हुँदा भाइसँगको टेलिफोन कुराकानीमा भाइले हत्या नगरेको बताएका थिए ।

पानी बोक्ने ट्यांकरचालक मृतक विवेक दाहाल जुबेलस्थित भेडाचरण गोठको लागि पानी लिएर जाँदै गर्दा केही व्यक्ति र साथी विष्टबीच झगडा भइरहेको थियो रे’ दाजु दाहालले भने, ‘त्यो देखेपछि छुट्याउन गएको थियो भाइ । झगडा छुट्याउँदै गर्दा अरू भागेपछि विवेकमाथि उल्टै कुटपिटको आरोप लाग्यो ।’

उक्त घटनामा विष्टको मृत्यु भएपछि हत्या आरोपमा फसाएको दाजु टेकबहादुरको भनाइ छ । विवेक निर्दोष रहेको परिवारको भनाइ छ । झगडामा सामेल अरू सबै भागेपछि दोष विवेकमाथि थोपरिएको र मालिकले समेत सहयोग नगरेपछि हत्याको आरोप लागेको परिवारले बतायो ।

मृतक परिवारलाई दाहाल परिवारले ब्लडमनीबापत झन्डै १० लाख रुपैयाँ दिएको थियो । सन् २०११ मा नेपाली दूतावासले जुबेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो ।

तर, सुडानी नागरिक उपचारपछि घर फर्किएकाले सम्पर्कविहीन भएपछि विष्ट परिवारबाट माफी भए पनि सुडानी नागरिकबाट माफी नभएकाले मृत्युदण्ड दिएको दाहाल परिवारको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार