विराटनगर : मोरङको उर्लाबारीमा एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै मामाको हत्या गरेका छन् । आइतबार राति उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियारले टाउकोमा प्रहार गरी ४२ वर्षीय काजी महराको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सुजन आइतबार राति करिब ११ बजेतिर धारिलो दाउले प्रहार गरेका हुन् ।
पथरीशनिश्चरे नगरपालिका–१ घर भएका काजी महरा ५ दिनदेखि उर्लाबारीस्थित बहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए । पाँचकोटीमाथि आफ्नै भान्जाले खाना खाएर सुतेको अवस्थामा बाम्फोक (दाउ) ले प्रहार गरेको खुलेको डीएसपी श्रेष्ठले बताए ।
दाउको प्रहारबाट घाइते भएका महराको उपचारका क्रममा सोमबार बिहान मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहेका सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले हतियारसहित पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ । मृतकको शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ ।