Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्वतन्त्र उम्मेदवारमाथि मुख्यमन्त्री राजेन्द्र राईका स्वकीय सचिवद्वारा कुटपिट



भोजपुर : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईका स्वकीय सचिव भद्रकाली पराजुलीले स्वतन्त्र उम्मेदवारमाथि कुटपिट गरेका छन् ।

भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार दिएका दिलिपकुमार खतिवडालाई मुख्यमन्त्री राईको निर्देशनमा उनका स्वकीय सचिव भद्रकाली पराजुलीले शनिबार राति कुटपिट गरेका हुन् ।

पराजुलीले आफूमाथि हातपात गर्दैै ज्यान मार्नेसम्मको धम्की दिएको स्वतन्त्र उम्मेदवार खतिवडाले बताएका छन् । षडानन्द नगरपालिकास्थित दिंलाको स्थानीय होटलमा आफुमाथि आक्रमण भएकोे उनले बताए ।

आफूमाथि जुनसुकै बेला आक्रमण हुन सक्ने भन्दैै खतिवडाले सुरक्षाको समेत माग गरेका छन् ।

षडानन्द नगरपालिकाका पुर्व मेयर विरवल राईसहित खाना खाँदै गर्दा राजनीतिक कुराकानी भइरहेको बेला आफूमाथि आक्रमण भएको उनले बताए । ‘पूर्वमेयर विरबल राईसहित खाना खाँदै राजनीतिक कुराकानी भइरहेका बेला मुख्यमन्त्रीका स्वकीय सचिव भद्र पराजुलीले कसलाई झोले भनेकोु भन्दै कुटपिट गरे’, खतिवडाले भने, ‘सत्ताको आडमा मलाई आक्रमण गरियो, निर्वाचनपछि भागेर कहाँ जान्छस् हेरौला भनेर धम्काए।’

यता मुख्यमन्त्रीका स्वकीय पराजुलीले भने तथानाम गालीगलौज गरेकाले ठेलमठेल मात्र भएको बताए । सम्झाउन खोज्दा पनि ‘झोले’ भन्दै अपशब्द बोलेपछि उम्मेदवार खतिवडालाई नियन्त्रण मात्र गर्न खोजिएको उनको भनाई छ ।

मुख्यमन्त्री राईकै स्वकीय सचिवबाट कुटपिटको घटनालाई लिएर स्थानीयले विरोध जनाएका छन् । पछिल्लो समय भोजपुरमा मुख्यमन्त्री राई आफ्ना विभिन्न अभिव्यक्तिबाट आलोचित भइरहेका छन् । मुख्यमन्त्री राई प्रदेश ‘क’ मा सत्ता गठबन्धनबाट उम्मेदवार छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार