यतीखेर सबैतिर चुनावी शरगर्मी बढेको छ । उम्मेदवारहरुले आ–आफ्नो क्षेत्रमा चुनावी प्रचारलाई तीव्रता दिएका छन् । जनतामाझ विभिन्न आश्वासन बाढिरहेका छन् । त्यतिमात्र नभएर पहिला जितेकोले गरेनन्, मलाई जिताउँनुस् म गर्छु भनेर भनिरहेका छन् । यस्तै मोरङको क्षेत्र नं. ६ (१) मा पनि चुनावी प्रचारप्रसारले निर्वाचनको मावल तताई रहेको छ । सो क्षेत्रमा प्रदेशसभा सदस्यका लागि नेकपा(एमाले) की नेतृ रीता न्यौपाने र सत्ता गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का ज्वाईँ जीवन आचार्य मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् । २०७४ को निर्वाचनमा पराजित आचार्य योपटक जित निकाल्ने दाउमा छन् भने मोरङ जिल्लाबाट एकमात्र महिला उम्मेदवारको रुपमा रहेकी न्यौपाने पनि परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त छिन् । स्थानीय समस्या बुझेको र यो क्षेत्रको लागि नयाँ अनुहारसँगै महिला उम्मेदवार भएका कारण मतदाताले आफूलाई जिताउनेमा उनी ढुक्क छिन् । उनै न्यौपानेसँग चुनावी गतिविधिको बारेमा गरिएको कुराकानी
चुनावी अभियान कसरी सञ्चालन भइरहेको छ ?
चुनावी अभियान तीव्र गतिमा भइरहेको छ । प्रचारप्रसारलाई कन्जुस्याँइ नगरी अगाडि बढाइहेको अवस्था छ । हाम्रो ठाउँमा उम्मेदवार आएनन् भनेर मतदाताले गुनासो गर्ने ठाउँ नहोस् भनेर घरदैलो र भेटघाटलाई तीव्र पारेका छौं ।
मतदाताको घरदैलोमा पुग्दा उनीहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
मतदाताको मिश्रित प्रतिक्रिया रहेको छ । कतिपय चुनावमा भोट दिएर के गर्ने, जितेर गएपछि कोही फर्किएर आउने हैन्, भन्ने कुरा गर्छन् भने कोही जितेर गएपछि हामीलाई नविर्सनु । हाम्रा समस्या बुझिदिनु भन्ने गर्दछन् । हामीलाई केही चाहिदैन, हाम्रा साना साना समस्या बुझिदिए हुन्छ भन्ने पनि छन् । हाम्रो प्रतिनिधि हो भन्ने आभास हामीलाई हुनुपरो भन्ने जनताको प्रतिक्रिया छ ।
तपाईँको क्षेत्रका मतदाताको खास चाहना के छ ?
म उम्मेदवार भएर मतदाताको घर घरमा पुग्दा उनीहरुको खासै ठूलो चाहना मैले पाइन । उनीहरुको सबैभन्दा ठूलो चाहना भने आफूले चुनेर पठाएको नेता आफ्नो ठाउँमा आइरहोस् । गर्न सक्ने काम गरोस् । यदि गर्न सकेन भने के कारणले सकेन हामीलाई बुझाओस् । जनताको दुःख सुःखको साथी बनोस् । आफ्नो जनप्रतिनिधिसँग छलफल, भेटघाट निरन्तर भइरहोस् भन्ने नै उनीहरुको मुख्य चाहना भएको पाएको छु ।
तपाईँले चुनाव जित्ने आधार के हो ?
चुनाव जित्ने आधार एक त पार्टी संगठन नै हो । दोस्रो हिजो यस क्षेत्रमा एमालेका जनप्रतिनिधिले गरेको काम हो । नेकपाले इमान्दारीताका साथ काम गर्छ भन्ने मानसिकता मतदातामा रहेको मैले पाएको छु । अर्को नयाँ अनुहारसँगै जिल्लाको एकमात्र महिला उम्मेदवार हुँ । त्यसपछि म पहुँचको राजनीति गरेको मान्छे हैन । भूगोलमा रहेर राजनीति गरेको र आफ्नो क्षेत्रका मतदाताहरूको समस्या बुझेको मान्छे हुँ । आफ्नो जिन्दगी नै सामाजिक सेवामा समर्पित गर्ने उद्देश्यका साथ अघि बढेको छु । जितेर गएपछि पनि म जनता कै सेवा गर्ने हो । त्यसकारण पनि मतदाताको उत्साह मप्रति छ । मैले चुनाव जित्ने आधार यही हो ।
एकातिर सत्ता गठबन्धन छ, अर्कोतिर एमाले एक्लै छ । यो अवस्थामा सजिलै चुनाव जितिन्छ त ?
सत्ता गठबन्ध भएपनि, जनलहर भने एमालेतिर छ । गठबन्धन नेताहरुको फाइदाको लागि भएको हो, हामी कार्यकर्ताको लागि हैन भन्ने मतदाताहरु हुनुहुन्छ । विचार सिद्धान्त केही नमिल्नेलाई कसरी भोट दिनु भनेर जनता आपंmैले भनिरहेको अवस्थामा गठबन्धनले असर गर्छजस्तो मलाई लाग्दैन । त्यसमाथि को उम्मेदवार कस्तो छ भनेर मतदाताले बुझिसक्नुभएको कारणले पनि चुनाव जित्न गाह्रो हुँदैन ।
आफ्नो प्रतिस्पर्धीलाई कुन रुपमा लिनु भएको छ ?
म ३५ वर्षदेखि यही क्षेत्रमा रहेर काम गरिरहेको छु । म यही क्षेत्रको बाटोले चिनेको छोरी हुँ । उहाँ मेरो घर यही क्षेत्रमा हो भनिराख्नु भएको छ । तर, कहाँ छ कसैलाई थाहा छैन । प्रचण्डको ज्वाईँ भएर यो क्षेत्रमा चुनाव लड्न आउनुभएको छ । अघिल्लो निर्वाचनमा पनि चुनाव लड्नुभएको हो । तर हार्नुभयो । राजनीतिक व्यक्तित्व भएको भए हारेपनि यो क्षेत्रको विकासका लागि काम गर्नुहुन्थ्यो । उहाँ त चुनाव लड्न आउनुभयो, त्यसपछि फर्केर आउनुभएन । अहिले पनि म पहुँचमा छु । विकासका योजनाहरु धेरै ल्याउँछु भनिरहनुभएको छ । पहुँचमा हुनेले त पहिला पनि ल्याउन सक्नुपथ्र्यो नि त, खै त ? आएन । एउटा परिवारभित्र रहेर राजनीति गर्नेले यो क्षेत्रको विकास गर्न सक्दैनन् भन्ने कुरा मतदाताले बुझेका छन् ।
प्रतिस्पर्धीलाई कमजोर त कहिले ठान्नुहुँदैन । यदि उहाँले राजनीतिमा संघर्ष गरेर आउनुभएको भए मैले अर्कै रुपमा हेर्नुपथ्र्यो । तर, पहुँचको भरमा पदको लागि निर्वाचन लड्न आएकाले मैले डर मान्नुपर्ने अवस्था छैन । उहाँ यो पाँच वर्षको अवधिमा सरकारको तलबभत्ता खाएर बस्नुभएको व्यक्ति हो । प्रचण्डकाको नजिक रहेर तलबभत्ता खाइरहँदा यो क्षेत्रको जनताको लागि केही नगरेका कारण जनतामा उहाँका झुटो आश्वासन पत्याउनु हुन्न । यसले गर्दा मलाई त्यति असहज हुन्छजस्तो लाग्दैन ।
चुनावको बेला उम्मेदवारहरुले एक अर्कालाई आरोप प्रत्यारोप लगाउने प्रचलन बढेको छ, यो कत्तिको उचित हो ?
म कसैलाई पनि गाली गर्नुहुँदैन भन्ने पक्षको मान्छे हुँ । मैले अहिलेसम्म मेरो प्रतिस्पर्धीलाई गाली गरेको छैन र गर्दिन पनि । मेरो प्रतिस्पर्धीले मलाई होच्याएर बोल्नुभयो । महिला भएर भोट माग्न आएको हैन, च्यातिएको लुगा देखाउन आएको हैन् भनेरभन्दा मलाई नराम्रो अनुभव भयो । तर, मैले उहाँलाई केही भनिन् । किनकी उहाँको स्तरमा मलाई झर्नु छैन । आफ्नो एजेण्डा राख्ने हो । आफूले त्यो ठाउँमा पुगेपछि गर्न सक्ने कामको बारेमा जनतालाई भन्ने हो । अरुलाई गाली गरेर ठूलो हुँइन्छजस्तो नि मलाई लाग्दैन । घृणायुक्त अभिव्यक्तिप्रति म सचेत छु । र, कसैले के गर्यो गरेन भन्ने कुरामा पनि म वास्ता राख्दिन । आफूले गरेका, गर्ने र गर्न सक्ने कामका बारेमा बोल्ने बानी मेरो छ । योभन्दा बाहिर म कहिले जाँदिन ।
तपाईँका एजेण्डा के के छन् ?
म मेरो पार्टी एमालेको एजेण्डालाई मध्यनजर गरेर काम गर्नेछु । पार्टीको प्रतिनिधिसभाका उम्मेदवारको एजेण्डालाई पनि मैले मध्यनजर गरेर काम गर्नेछु । योसँगै म प्रदेशसभा सदस्य भइरहँदा के गर्ने भनेर आफ्नो स्थानीय एजेण्डा अगाडि सारेको छु । मैले स्थानीयको समस्यालाई बुझेर आफ्नो एजेण्डा प्रस्तुत गरेको छु ।
हाम्रो समाजमा अझै पनि छोरीलाई किन पढाउने भन्ने सोच हावी छ । यसकारण मैले छोरी पढाउ अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनेछु । नीतिगतरुपमा अगाडि बढाउने सोच छ । युवा स्वरोजगार सृजना गरी युवार्लाइ विदेश पलायन हुनबाट रोक्ने दीर्घकालिन योजना बनाउनेछु । महिलालाई आर्थिक एवं सामाजिक रुपमा अगाढि बढाउने नीति ल्याउनेछु । ज्येष्ठ नागरिक भवनसँगै ठाउँठाउँमा जमघट हुने ठाउ निर्माण गर्नेछु । बालबालिकाको मनोरञ्जनका लागि चिल्ड्रेन पार्क बनाउन पहल गर्नेछु । महिलालाई विना झन्झट निःशुल्क सेनेटरी प्याड वितरणमा सहजीकरण गर्नेछु । अपाङ्गमैत्री सौचालय निर्माणमा जोड दिनेछु ।
अझै पनि धेरै महिलाहरुले प्रसूतिको समयमा रगत अभावमा ज्यान गुमाइरहेका छन् । रगत अभावमा कुनै महिलाले ज्यान गुमाउनु नपरोस् र पैसा अभावमा रगत नपाउने परिस्थिति नहोस् भन्ने उद्देश्यले प्रसुती समयमा निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गर्नेछु । क्षेत्रको प्रत्येक वडामा खुल्ला व्यायमशालाको व्यवस्था गर्नेछु । निर्वाचित भइसकेपछि स्थानीयको समस्या उनीहरुसँग नै बसेर छलफल गरेर आवश्यकता अनुसार पूरा गर्ने कोशिश गर्नेछु ।