Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङका एक सय ८७ कैदीबन्दीले मतदान गर्न पाउने



सांकेतिक तस्बीर

विराटनगर : आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मोरङ जिल्ला कारागारमा रहेका एक सय ८७ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार मोरङ कारागारमा रहेका एक सय ८७ कैदीबन्दीले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने भएका हुन् । मोरङ कारागारमा ९ सयबढी कैदी छन् । तीमध्ये अन्तिम मतदाता नामावलीमा नाम भएकाहरुले मतदान गर्न पाउने भएका हुन् ।

कारागारमा भएका कैदीहरुका लागि कारागारभित्रै अस्थायी मतदानस्थलको व्यवस्था मिलाएको निर्वाचन प्रमुख अधिकारीले बताए । ‘मोरङ कारागारमा ९ सयबढी कैदीहरु भए पनि एक सय ८७ जनामात्रै मतदान गर्न योग्य देखिएका छन्’, अधिकारीले भने, ‘कैदीहरुको सहजताका लागि हामीले अस्थायी मतदानस्थल तोकेर त्यहीँ मतदानको व्यवस्था मिलाएका छौँ ।’

अदालतको आदेशपछि निर्वाचन आयोगले ०७९ असार १ गतेदेखि ०७९ साउन १९ गते सङ्कलन तथा अद्यावाधिक गरेको विवरणका आधार समानुपातिक निर्वाचन प्रणालीतर्फ कैदीबन्दीले मतदान दिन पाउने प्रदेश निर्वाचन प्रमुख अधिकारीले बताए ।

६ संघीय र १२ प्रदेश निर्वाचन क्षेत्र रहेको मोरङमा सात लाख ३५ हजार ५२५ मतदाता छन् । जिल्लामा ३०६ मतदान स्थल र ८३९ मतदान केन्द्र छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार