कटारी-१० स्थित कालिका माध्यमिक विद्यालयको मतदान केन्द्र
विराटनगर : उदयपुरको कटारी नगरपालिका-१० सोरुङ छविसेका स्थानीयले निर्वाचन बहिष्कारको निर्णय फिर्ता लिएका छन् ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतदानको क्रममा गोली लागेर ज्यान गुमाएका १८ वर्षीय वीरबहादुर कटुवालको परिवारले क्षतिपूर्ति नपाएको भन्दै १४ कार्तिकमा सोरुङका राजनीतिक दलले निर्वाचन बहिष्कारको चेतावनी दिएका थिए ।
स्थानीय तहको निर्वाचनमा कटारी-१० मा रहेको कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले मतपेटिका लिएर दौडिन खोजेको भन्दै गोली चलाउँदा कटुवालको मृत्यु भएको थियो भने गोली लागेर १४ वर्षीय मोहन श्रेष्ठ घाइते भए ।
प्रहरीले चलाएको गोली लागेर कटुवालको मृत्यु भएपछि स्थानीय आन्दोलन गर्दै मतपेटिका उठाउन दिएनन् । विभिन्न माग राख्दै स्थानीयले शवसमेत उठाएनन् ।
स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवको नेतृत्वमा पीडित पक्ष र सरकारबिच सातबुँदे सहमति भएको थियो । मृतकलाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपूति प्रदान गर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्नेलगायतका बुँदामा दुई पक्षिय सहमति भए पनि पीडितले क्षतिपूर्ति पाएका थिएनन् ।
क्षतिपूति नपाएपछि निर्वाचन बहिष्कारको चेतावनी दिएका वडाबासीसँग पुनः सहमति भएपछि उनीहरुले निर्वाचन बहिष्कारको निर्णय फिर्ता लिएका हुन् ।
मंगलबार कटारी नगरपालिकाको कार्यालयमा मेयर राजेशचन्द श्रेष्ठ, उपमेयर गिता खड्कासहित ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख चेतराज बराल, राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलिय वैठकले सहमति कार्यान्वयन गर्ने निर्णयसँगै पुनःसहमति भएको हो ।
कटारी नगरपालिकाका प्रमुख राजेशचन्द श्रेष्ठका अनुसार सहमति भएका बुँदामध्ये केही कार्यान्वयन भइसकेको र कार्यान्वयन हुन बाँकी रहेका कुराहरु पुनः पहल गर्ने सहमति भएको छ । पूर्वेलीप्रेससँग कुराकानी गर्दै उनले सहमति भएअनुसारको १० लाख क्षतिपूर्ति गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयमा आएको र पीडितले उक्त रकम आज बुभ्ने बताए ।
अन्य कुरामा अगाडीनै सहमति भएको बताउँदै प्रमुख श्रेष्ठले भने, ‘मृतकलाई सहिद घोषणा गर्ने कुराले विवाद भएको हो, त्यसका लागि पनि हामीले पहल गर्ने निर्णय गरेका छौँ ।’
स्थानीयले निर्वाचनको बहिष्कार गर्ने निर्णय गरेपछि यो वडामा निर्वाचनका गतिविधि भएको थिए । मंगलबार स्थानीयले निर्वाचन बहिष्कारको निर्णय फिर्ता लिएसँगै चुनावी गतिविधि सुरु भएको श्रेष्ठले बताए ।