विराटनगर : मोरङको विराटनगर महानगरपालिकाको ढाटमा मंगलबार साँझ कार र दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
कोसी राजमार्गअन्तर्गत विराटनगरको वडा नम्बर ३ र ४ को सिमना ढाटमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प १९२७ र को ७ प ८२०७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँएर अनियन्त्रित हुँदा मोटरसाइकल उत्तरतर्फ जाँदै गरेको बा ५ च २७५१ नम्बरको कारमा ठोक्किएको थियो ।
दुर्घटनामा परी प्रदेश १–०२–०४२ प १९२७ नम्बरको मोटरसाइकलका चालक सुनसरीको दुहवी नगरपालिका–१० का ३५ वर्षीय रिकेशराज ढकालको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमारा कार्कीले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ढकालको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो ।
उक्त मोटरसाइकलको पछाडि सवार विराटनगर–३ का २५ वर्षीय नारायण बिहानी र अर्को मोटरसाइकलमा सवार विराटनगर–४ की ४५ वर्षीया फुलोदेव गडेरी घाइते भएका छन् ।
प्रहरीका अनुसार उनीहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये फुलोदेवीको अवस्था गम्भीर छ ।
को ७ प ८२०७ नम्बरको मोटरसाइकलका चालक फरार बनेको मोरङ ट्राफिक प्रहरीका प्रमुख कार्कीले बताए ।
प्रहरीले दुईवटै मोटरसाइकलसहित कार र चालक दुहवी–५ का ४० वर्षीय रवि कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।