आइतबार इटहरामा मल लिन आएका किसानहरुको लाइन / तस्बीर : पूर्वेलीप्रेस
विराटनगर : देश चुनावी माहोलमा छ । राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेदवार भोट माग्न व्यस्त छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरु दिनहुँ घरदैलो अभियानमा निस्किएका छन् ।
मोरङको दक्षिणी सिमावर्ती पालिका रतुवामाईका किसानहरु धानबाली भित्र्याएर हिउँदे बाली लगाउने तरखरमा छन् । यस क्षेत्रका किसानहरु धान भित्र्याएर आलु, तोरी, गहुँ, दालहन जस्ता हिउँदे बाली लगाउने गर्छन् ।
आइतबार एका बिहानै रतुवामाई ९ मा रहेको कृषि सहकारी अगाडी मलका लागि किसानको लाइन थियो । त्यही लाईनमा थिइन सोही वडाकी मिरा पौडेल । धान रोप्ने बेला पनि मल नपाएका उनलाई हिउँदेबाली लगाउँदा पनि मल नपाइएला कि भन्ने पिर छ । सहकारीले कम मात्रामा मल बाँड्ने भएपछि उनी बिहान ४ बजेबाट लाइनमा बसेको सुनाउँछिन् ।
मल नपाएर हामीले धान रोप्ने बेला पनि धेरै दुख पायौँ, अब आलु रोप्न खेत जोताएर ठिक्क पारेको छु,’ उनले भनिन्, ‘मल नपाएर हामीले दुख पाउँदै आएका छौँ, भोग माग्न आउनेलाई यसको चासो नै छैन् । भाषणमा त अहिलेनै नेताहरुले घरघरमा मल पुर्याइदिरहेका छन् ।’
यस्तै गुनासो अर्का किसान कुल बहादुर कार्कीले पनि सुनाए ।
समयमा मल नपाएर खेती गर्दा भएको दुख स्मरण गर्दै उनले भने, ‘अहिले विभिन्न खालका आश्वासन र विकासे नारा लिएर नेताहरु गाउँगाउँ पस्दैछन्, पाँच वर्षसम्म हाम्रो गाउँ ठाउँमा पाइला नटेक्ने नेतालाई यसपालि भोट हाखिदैन् ।’
यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेले ऋषिकेश पोखरेल र कांग्रेसले सुजता कोइरालालाई उम्मेदवार बनाएको छ । पोखरेल र कोइरालासँगै १३ जनाको उम्मेदवारी भएपछि मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसकै बिच हुने मतदाताको बुझाइ छ ।