Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ ४ : तीव्र चुनावी अभियानमा गठबन्धन



विराटनगर : मोरङ निर्वाचन क्षेत्र नम्बर-४ मा सत्ता गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ । क्षेत्रका विभिन्न पालिकाहरुमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उमेदवारले घरदैलोदेखि कोणसभा कार्यक्रम आयोजना गरिरहेका छन् ।

शनिबार विराटनगर महागनरपालिका-२ का विभिन्न टोलमा आयोजित घरदैलोमा सहभागी हुँदै प्रतिनिधिसभा उमेदवार अमनलाल मोदी र प्रदेश (२) का उम्मेदवार भीम पराजुलीले आफूहरु जनचाहना अनुरुप विकास निर्माणको कामलाई निरन्तरता दिने बताए ।

यस्तै कटहरी गाउँपालिका-२ को कदमगाछीमा आयोजित सभामा बोल्दै उम्मेदवार मोदीले भने, ‘दुईदुई पटकसम्म संसद विघटन हुँदा विकासको काममा समेत असर गर्यो, लोकतन्त्र बचाउनको लागि पनि गठबन्धनको अवधारणा अघि सर्यो अब वहुमतको सरकार बनाएर अवरुद्ध भएका धेरै कामलाई अघि बढाउनु छ ।’ मोदीले विगतका सरकारले गरेका धेरै गल्तीहरुलाई सच्याएर र सुधार अघि बढ्नु नै आफूहरुको जिम्मेवारी भएको बताए ।

मोरङ-४ ‘२’ को प्रदेशसभाका कांग्रेस उमेदवार भीम पराजुलीले आफूले एक कार्यकाल विराटनगर महानगरपालिकाको मेयरको रुपमा काम गरेको अनभुव रहेकोले अब प्रदेशको विकासमा पनि त्यही ढंगले अघि बढ्ने बताए । ‘एउटा सक्षम र सवल प्रदेश निर्माणमा पूर्ण रुपमा सक्रिय हुनका लागि म उमेदवार बनेको हुँ,’ पराजुलीले भने, ‘संघीयता कार्यान्वयन र विकासका अवसरलाई तलसम्म लैजान पनि गठबन्धनको सरकार बन्नुपर्छ ।’

पराजुलीले विकासको अवसर तलसम्म लैजान बीचको सरकारको रुपमा स्थापित प्रदेशले धेरै काम गर्न सक्ने बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार