विराटनगर : आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बदर मत कम गर्न मोरङका १७ वटै पालिकामा नमुना मतदान हुने भएको छ । बुधबार विराटनगरबाट औपचारिक रुपमा मतदाता शिक्षा कार्यक्रम सुरु भएको हो ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अधिकृत लेवनकश्यप अधिकारीका अनुसार जिल्लाका १७ वटै पालिकामा पमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी मतदान प्रक्रियाको बारेमा सुसूचित गराउइने छ ।
एकै व्यक्तिले चारवटा मतपत्रका मत हाल्दा मत बदर हुने संख्या बढ्ने भएकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको अधिकारीले बताए । मंसिर १ गतेसम्म प्रत्येक वडामा एक जना महिला स्वास्थ्य स्वयंसेविकाले घरघरमा गएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।
समानुपातिक तथा प्रत्यक्षतर्फको मतपत्रबारे जानकारी गराउने, मतदानको प्रक्रिया, मतदानस्थल र मतदान केन्द्र तथा मतदान अधिकृत र सहायक कर्मचारीको भूमिकाबारे मतदाता शिक्षा कार्यक्रममा जानकारी गराइने अधिकारीले बताए ।
७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा प्रतिनिधिसभातर्फ ६ र प्रदेशतर्फ १२ निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्र छन् ।