विराटनगर : मोरङको उर्लाबारीबनट प्रहरीले भरुवा बन्दुकको त्रास देखाएर श्रीमती कुटपिट गर्ने ३१ वर्षीय युवालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका-२ का ३१ वर्षीय दीपक विश्वकर्मालाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको हो ।
विश्वकर्माले मादक पदार्थ सेवन गरी भरुवा बन्दुकले त्रास देखाउँदै श्रीमतीमाथि कुटपिट गरेको पाइएपछि बुधबार साँझ पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको टोलीले विश्वकर्मालाई भरुवा बन्दुकसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
बन्दुकसहित पक्राउ परेका विश्वकर्मालाई नियन्त्रणमा लिई हातहतियार खरखजना मुद्दा चलाउन म्याद थप भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।