Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निर्वाचन आयोगले हटायो समानुपातिक सूचीका ५ सय ५० जनाको नाम



काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक पद्धतितर्फको बन्दसूचीबाट ५ सय ५० जना उम्मेदवारको नाम हटाउने निर्णय गरेको छ ।

दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएकाहरुलाई आयोगले सूचीबाट हटाएको हो । जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३ सय ६९ जना पनि छन् । आयोगले निर्वाचन कानून र आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारीमा परेकाहरु, कालोसूचीमा रहेका र लाभको पदमा बसेकाहरुको नाम हटाएको हो ।

उमेर नपुगेकाहरुमध्ये प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ । दोहोरो उम्मेद्वारी परेकाले ६६ जनाको नाम हटेको छ ।

अल्पसंख्यक र लैंगिक सूचनाको अस्पष्टताका कारण पनि केही उम्मेदवारको नाम हटाएको आयोगले जनाएको छ । लैंगिक विवरण फरक परेका कारण पनि ३७ जनाको नाम हटेको छ । दलहरुले महिलालाई पुरुष र पुरुषलाई महिला भनी उल्लेख गरेकाले यसरी नाम हटेको हो ।
मतदाता नामावलीमा नाम नै नभएका कारण ६ जनाको नाम हटेको छ । प्रदेशसभामा उम्मेदवार भएपनि सम्बन्धित प्रदेशमा मतदाता सूचीमा नाम नभएका कारण १८ जना सूचीबाट हटेका छन् ।

आयोगले मागेको कागजात पेश नगरेकाले थप ६ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार