विराटनगर : आउँदै गरेको छठ पर्वलाई लक्षित गर्दै विराटनगर महानगरपालिकाले नहरको सफाई सुरु गरेको छ । सुनसरी–मोरङ सिंचाई आयोजनाको सहकार्यमा महानगरले शनिबारबाट नहरको सफाई सुरु गरेको हो ।
महानगर क्षेत्रभित्रका सबै नहर सफा गर्ने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । हरेक दिन दुईवटा जेसीवीले नहर सफाई गर्ने उनले बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले लामो समयदेखि नहर सफा नभएको र फोहोर पानीमा छठका व्रतालु पस्न नपरोस् भनेर नहर सफा गरेको बताए । मेयर कोइरालाको पहलमा नहर सफाईलाई तीव्रता दिइएको उनले बताए ।
सुनसरी–मोरङ सिंचाई आयोजनाको नहरले विराटनगरको वडा नम्बर ४, ५, ६, ११, १२, १६ लगायतका वडा समेटेको छ । हरेक शुक्रबार महानगर सफाई विशेष अभियान पनि सञ्चालन भइरहेको छ ।