विराटनगर : विराटनगर महानगरपालिकाले डेंगु रोग नियन्त्रण र रोकथामका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण सञ्चालन गरेको छ । डेंगुको संक्रमण दैनिक बढ्दै गएपछि महानगरले नियन्त्रण र रोकथामका लागि पूर्वतयारी सुरु गरेको हो ।
शनिबार स्वास्थ्यकर्मीहरुका लागि डेंगु रोग सम्बन्धी निगरानी, सम्भावित महामारीको तयारी, रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा अभिमुखीकरण सञ्चालन गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सुरेन्द्र उरावले डेंगुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा स्वास्थ्यकर्मीहरुलाई जानकारी गराए ।
उनले भदौ यता डेंगुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको बताए । टायर, जार, नालीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाईमा ध्यान दिनुपर्नेमा डा. उरावले जोड दिए ।
घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायतका विधि अपनाएमा डेंगुको संक्रमणबाट बच्न सकिने उनको भनाइ छ । डा. उरावले नेपालमा सबैभन्दा बढी १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरु संक्रमित भएको बताए ।
पहिलो चरणमा महानगरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई डेंगु रोग नियन्त्रण र रोकथामका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । अलीका अनुसार दोस्रो चरणमा आइतबार नै जनप्रतिनिधि, नागरिक समाजका अगुवासहित सबै क्षेत्रका व्यक्तिसँग डेंगुको नियन्त्रण र रोकथामका विषयमा छलफल गरिनेछ ।