विराटनगर : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल र कांग्रेस नेतृ सुजता कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । यो क्षेत्रमा पोखरेल र कोइरालाससहित १३ जनाले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराए पनि यी दुई नै मुख्य प्रतिस्पर्धि हुन् ।
मोरङ २ तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको क्षेत्र हो । गिरिजाका लागि सुरक्षित क्षेत्र मानिएको यहाँ उनले २०४८, २०५२ र २०५६ सालको निर्वाचनमा लगातार चुनाव जितेका थिए ।
कोइराला पछि यो क्षेत्रबाट आमोदप्रसाद उपाध्याय चुनाव लड्दै गए । गिरिजापछि यो क्षेत्रमा उनै उपाध्यायले कांग्रेसको बिडो थाम्दै गए । तर, २०७० मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली मानिएका उपाध्यायलाई हराउँदै एमालेका ऋषिकेश पोखरेलले कांग्रेसको गढ भत्काए ।
२०७४ को निर्वाचनमा एमाले माओवादीको बाम गठबन्धनबाट पोखरेल दोस्रो पटक उम्मेदवार बने । उनी नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजालसँग पराजित भए । ०७४ मा देशभर बाम गठबन्धनको लहर चलेको बेला मोरङ २ मा चुनाव जितेर मोरङमा कांग्रेसलाई निल हुनबाट जोगाएका रिजाललाई पन्छाउँदै यसपटक देउवाले सुजतालाई टिकट दिएका हुन् ।
सुजता कोइराला यो क्षेत्रका लागि नयाँ अनुहार हो । कांग्रेसभित्रकै अर्को समूहले उनलाई ‘टुरिस्ट’ उम्मेदवारको उपमा दिइरहेको छ । कांग्रेसभित्रको आन्तरिक कलहले एमालेलाई फाइदा हुने एमालेजनको विश्वास छ । देउवाले टिकट नदिएकै कारण मिनेन्द्र रिजालको समूह यस क्षेत्रमा रुष्ट छन् ।
स्थानीय उम्मेदवार भएकै कारण पनि पोखरेललाई चुनाव जित्न सहज हुने एमाले नेताहरु बताउँछन् । नेकपा एमालेको मोरङ जिल्ला अध्यक्षसमेत रहेका पोखरेल यस क्षेत्रका स्थापित नेताका रुपमा चिनिन्छन् ।
प्रदेशसभा (क) बाट एमालेका दानबहादुर कार्की, गठबन्धनबाट माओवादीका गणेश उप्रेतीसहित १२ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा (ख) बाट एमालेका लिलाबल्लभ अधिकारी र कांग्रेसका विनोद कार्कीसहित ९ जना चुनावी मैदानमा छन् ।
मोरङ २ मा रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिकासहित पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ५ र ६, कानेपोखरी गाउँपालिकाको १,२ र ३, रंगेली नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडा पर्छ ।
२९ वडा रहेको मोरङ २ मा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले एक्लैले १६ वडा जितेको छ । कांग्रेसले ११ वडामा जित्दा माओवादीले २ वडामा अध्यक्ष जितेको छ ।
वडागत मत विवरणअनुसार एमालेले ३१ हजार २३१ मत ल्याएको छ। यस्तै, कांग्रेसले २८ हजार ६१४, माओवादीले ७ हजार २७१ र जनता समाजवादी पार्टी (जसपा) ले ४ हजार ३४६ मत प्राप्त गरेका छन् ।