विराटनगर : आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा दलका उम्मेदवाहरुले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवार दर्तापछि मोरङका ६ क्षेत्रमा सत्ता गठबन्धन र एमाले जसपाको गठबन्धनबिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवारबिच प्रतिस्पर्धा हुने देखिएको छ । प्रमुख दलबाट अघिल्लो निर्वाचनमै उम्मेदवार बनेकाहरुले उम्मेदवारी दर्ता गरेका छन् । मोरङ तीन निर्वाचन क्षेत्रमा २०७४ को निर्वाचनका प्रतिस्पर्धिहरु पुनः चुनावी मैदानमा छन् । नयाँ देखिएका उम्मेदवारले पनि पुरानै उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् ।
अघिल्लो निर्वाचन र अहिलेको निर्वाचनको समिकरण फेरिएको छ । देशभर बाम गठबन्धन गरेर चुनावमा होमिएका माओवादी र एमाले अलग भएका छन् । माओवादी कांग्रेससँगको गठबन्धनमा यो पटक चुनावमा जाँदै छ ।
मोरङ–१ डिगबहादुर लिम्बू र घनश्याम खतिवडा
नेकपा एमालेका घनश्याम खतिवडा र कांग्रेसका डिगबहादुर लिम्बू पुनः चुनावी मैदानमा छन् । यी दुवैले आइतबार प्रतिनिधिसभा सदस्यका लागि मोरङ–१ बाट उम्मेदवारी दर्ता गराएका छन् । खतिवडा र लिम्बू तेस्रो पटक चुनावी मैदानमा आमनेसामने हुँदैछन् ।
२०७४ को निर्वाचनमा मोरङ–१ मा घनश्याम खतिवडा विजयी भए । उनले लिम्बुलाई ६ हजार ८८ मतको फराकिलो मतान्तरले पराजित गरेका थिए । खतिवडाले ३७ हजार ५ सय २४ मत प्राप्त गर्दा लिम्बुले ३१ हजार ४ सय ३६ मत मात्र प्राप्त गरेका थिए । लिम्बू हाल नेपाली कांग्रेसको जिल्ला सभापति छन् ।
२०७० को निर्वाचनमा भने तीनै लिम्बूले खतिवडालाई पराजित गरेका थिए । ०७४ को निर्वाचनमा एमाले माओवादीको वाम गठबन्धनको फाइदा लिँदै खतिवडाले लिम्बूसँग बदला लिएका थिए ।
मोरङ–२ ऋषिकेश पोखरेल र सुजता कोइराला
मोरङ–२ का लागि सुजता कोइराला नयाँ अनुहार हो । कोइराला पक्षधार मिनेन्द्र रिजाललाई पन्छाउँदै देउवाले काइरालालाई टिकट दिएका हुन् । यो क्षेत्र सुजताका पिता गिरिजा प्रसाद कोइरालाले चुनाव लड्दै आएको क्षेत्र पनि हो । आफ्ना स्वर्गीय पिता निर्वाचित हुँदै आएको क्षेत्र भएकाले उनको पहिल्यैदेखि दाबी गर्दै आएकी थिइन् ।
सुजताको प्रतिस्पर्धा एमालेका ऋषिकेश पोखरेलसँग हुँदैछ । मोरङ २ का लागि सुजता नयाँ अनुहार भए पनि पोखरेल परिचित नाम हो । २०७० को संविधानसभा निर्वाचनमा पाखेरलले यही क्षेत्रबाट कांग्रेसका प्रभावशाली नेता आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए ।
एमालेको मोरङ जिल्ला अध्यक्षसमेत रहेका पोखरेल २०७४ को निर्वाचनमा भने पराजित भएका थिए । उनी कांग्रेसका मिनेन्द्र रिजालसँग हारेका थिए । देशभर बाम गठबन्धनको लहर चल्दा मोरङ २ मा चुनाव जितेर मोरङमा कांग्रेसलाई ‘निल’ हुन बाट उनै रिजालले जोगाएका थिए ।
मोरङ–३ भानुभक्त ढकाल र सुनिल शर्मा
मोरङ क्षेत्र नम्बर ३ मा अघिल्लो निर्वाचनका प्रतिस्पर्धिहरु उम्मेदवार बनेका छन् । एमाले र कांग्रेस दुवै दलका पुरानै अनुहार चुनावी मैदानमा छन् । एमालेले भानुभक्त ढकाललाई उम्मेदवार बनाएको छ । कांग्रेसले २०७४ को निर्वाचनमा ढकालसँग पराजित भएका सुनिल शर्मालाई टिकट दिएको छ । शर्मा शेखर कोइराला पक्षका नेता हुन् ।
अघिल्लो निर्वाचनमा ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका थिए । ढकाल र शर्मा दोस्रो पटक चुनावी मैदानमा छन् ।
मेडिकल व्यवसायीसमेत रहेका शर्मा जनताको सेवकका रुपमा आफू फेरी जनतामाझ आएको बताउँछन् । यता, ढकाल आफ्ना कार्यकालमा भएका अधुरा काम पुरा गर्न पुनः उम्मेदवारी दिएको बताउँछन् ।
मोरङ–४ विनोद ढकाल र अमनलाल मोदी
नेकपा एमालेबाट विनोद ढकाल र सत्ता गठबन्धनका तर्फबाट माओवादीका अमनलाल मोदीले मोरङ क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता गरेका छन् ।
अघिल्लो निर्वाचनमा एमालेको सहयोगमा उम्मेदवार बनेका मोदीले कांग्रेसका ‘हेभिवेट’ नेता महेश आचार्यलाई पराजित गरेका थिए । मोदीले ३३ हजार ४२९ मत ल्याउँदा आचार्यले २६ हजार ८०० मत मात्रै पाएका थिए । यसपटक मोदीको भिडन्त एमालेका ढकालसँग हुदैँछ ।
ढकाल त्यही व्यक्ति हुन्, जो २०७४ मा एमाले माओवादीको बाम गठबन्धनबाट उम्मेदवार बनेका मोदीलाई जिताउन खटिएका थिए ।
मोरङ–५ शिवकुमार मण्डल र राजकुमार यादव
मोरङ क्षेत्र नम्बर ५ मा एमालेसँगको गठबन्धनबाट जसपाका राजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । यता, सत्ता गठबन्धनबाट माओवादीका शिवकुमार मण्डलले मनोनयन दर्ता गरेका छन् । गठबन्धनबाट प्रतिनिधि सभामा दावी गरिरहेका कांग्रेसका अमृत आर्याल प्रदेशसभाको उम्मेदवार बनेपछि मण्डलले टिकट पाएका हुन् ।
२०७४ को निर्वाचनमा मण्डलले अर्याललाई पराजित गरेका थिए । एमालेबाट उम्मेदवार बन्ने आशमा रहेका जीवन विकासका अध्यक्ष योगेन्द्र मण्डलले मोरङ ५ पार्टीले जसपालाई छाडेपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मोरङ–५ लालबाबु पण्डित र शेखर कोइराला
दुई ‘हेभिवेट’ नेता लालबाबु पण्डित र शेखर कोइराला पुनः चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा यी दुईको प्रतिस्पर्धालाई चासोका रुपमा हेरिएको थियो । पण्डितसँग कोइराला झिनो मतले पराजित भएका थिए ।
यी दुवै नेताले आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।