विराटनगर : लालीगुराँस स्पोटिङ क्लब विराटनगर रतुवामाईमा जारी अन्तरपालिका क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै क्वाटरफाइनल प्रवेश गरेको छ ।
रतुवामाई-६ स्थित सौँठा माविको खेल मैदानमा मंगलबार भएको उद्घाटन खेलमा लेटाङ एकेडेमीलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै लालीगुराँस स्पोटिङ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
प्रतियोगिताको उद्घाटन रतुवामाई नगरपालिकाका मेयर नागेश्वर सिंह र उपप्रमुख दमयन्ता चुडालले गरेका थिए । युवा तथा खेलकुद समिति रतुवामाई ६ को आयोजनामा असोज १८ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागीता रहेको रुपेश ढकालले जानकारी दिए ।
प्रतियोगतामा मिल्स युवा क्लब विराटनगर, डागीँहाट फुटबल क्लब बेलबारी, अमरदह स्पोटिङ क्लब सुनवर्षी, राजघाट स्पोटिङ क्लब उर्लाबारी, लालीमा फुटबल क्लब गौरीगञ्ज र आयोजक रतुवामाई नगरपालिकाको सहभागीता रहेको आयोजक समितिका सदस्य दिनेशकुमार बिष्टले जानकारी दिए ।
प्रतियोगिताको विजेता नगद रु ५१ हजार र उपविजेता टिमले ३१ हजार रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
प्रतियोतिगताको दास्रो खेल बुधबार आयोजक टिम र मिल्स युवा क्लब विराटनगरबिच हुदैँछ ।