विराटनगर : दशै, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै उदयपुरमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षा व्यवस्था कडा बनाउन जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन सय ७७ जना प्रहरी परिचालन गर्ने भएको हो ।
चाडपर्वमा कुनै पनि अप्रिय घटना र अवाञ्छित गतिविधि नहोस् भनेर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
फुयाँलका अनुसार जिल्ला कार्यालय अन्तरगतका प्रहरी युनिटलाई अधिकतम परिचालन गर्ने गरी योजना अघि सारिएको छ । चोरी/डकैति तथा लुटपाट, कालोबजारी, तस्करी, अपहरण, ठगी, चन्दा असुली, पाकेटमारी, झैझगडा जस्ता सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पार्ने प्रहरीले बताएको छ ।
जिल्लाभर प्रहरीले मोवाइल गस्ती, मोटरसाइकल गस्ती, आकस्मिक चेकिङ, पैदल गस्ती गर्ने योजना बनाएको एसपी फुयाँलले जानकारी दिए ।
चाडपर्वको मौकामा यातायात सेवामा बढी भाँडा रकम असुल गर्नेको संख्या बढ्न सक्ने भन्दै केही ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।