Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेसका नेता कार्यकर्ता भन्छन् : मोरङ ४ छोड्दैनौँ



विराटनगर : मोरङ क्षेत्र नम्बर-४ का नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले सो क्षेत्र अन्य पार्टीलाई छाड्न नसक्ने घोषणा गरेका छन् । सोमबार निर्वाचन क्षेत्र अन्तरगतका बुथ सभापति, पालिका सभापति र केन्द्रीय सदस्यहरुको संयुक्त भेलाले मोरङ-४ अन्य पार्टीलाई छाड्न नसक्ने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली, पूर्व राज्यमन्त्री दिलिप गच्छदार, ग्रामथान र कटहरी गाउँपालिकाका प्रमुखलगायतको उपस्थितिमा भएको भेलाले गठबन्धनका अन्य दललाई मोरङ क्षेत्र नम्बर ४ नछाड्ने निर्णय गरेका हुन् ।

मोरङ-४ कांग्रेसको पकड क्षेत्र भएको भन्दै उनीहरुले सो क्षेत्र नछाड्ने नेतृत्वलाई चेतावनी दिएका छन् । २०७४ को निर्वाचनमा माओवादीले जितेबाहेक यो क्षेत्रमा कांग्रेसबाहेका दलले चुनाव जितेका छैनन् ।

उक्त भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री गच्छदारले कुनै पनि हालतमा मोरङ-४ अन्य पार्टीलाई दिए मान्न नसकिने चेतावनी दिए । उनले मोरङ-४ मा कांग्रेसलाई नै टिकट दिनेपर्ने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य पराजुलीले निर्वाचन क्षेत्रका सबै कांग्रेसका कार्यकर्ताहरु आफ्नै पार्टीका नेताले टिकट पाउनुपर्नेमा रहेको बताउँदै कांग्रेसबाहेक अन्य विकल्प खोज्न नहुने बताए ।

उक्त भेलामा वडाका बुथ सभापति, पालिका सभापति गरी करिब १५० जना नेता कार्यकताहरुको सहभागीता रहेको थियो । सो निर्वाचन क्षेत्रमा २३ वडा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार