Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वडाध्यक्षहरूलाई संवैधानिक र कानुनी व्यवस्थाबारे अभिमूखीकरण



विराटनगर । विद्यमान संवैधानिक तथा कानुनी प्रावधानबारे मोरङका १७ स्थानीय तहका १५९ जना वडाध्यक्षहरूलाई तीनदिने अभिमुखीकरण गरिएको छ । प्रदेश प्रशिक्षण केन्द्र कलबलगुडीको आयोजना तथा जिल्ला समन्वय समिति मोरङको संयोजनमा नवनिर्वाचित वडाध्यक्षहरूलाई अभिमुखीकरण गरिएको हो ।

स्थानीय तहको सेवा प्रवाहमा पहिलो निर्णयकर्ताको रुपमा रहेका वडाध्यक्षहरूले काम गर्नुपर्ने भएकाले कार्यक्षमता अभिबृद्धि र वडाको कामलाई व्यवस्थित बनाउने उद्देश्यका साथ अभिमुखीकरण गरिएको जनाइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, शाखा अधिकृत डम्बरुबल्लभ बराल, प्रशिक्षण केन्द्रका जयनारायण अधिकारी, प्रदेश लेखा नियन्त्रक दामोदर खत्री, प्रेमराज जोशी लगायतले सहजीकरण गरेका छन् ।

स्थानीय तहमा बढ्दो बेरुजुलाई न्यूनीकरण गर्न, जनताको गुनासोहरूलाई सम्बोधन गर्दै सेवा प्रवाह चुस्त दुरुस्त बनाउन, कानुनबमोजिमका कामकारवाहीमात्रै गर्न, उपभोक्ता समिति परिचालन, सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन अभिमुखीकरण प्रभावकारी हुने प्रदेश प्रशिक्षक केन्द्रका कार्यकारी निर्देशक विष्णुकुमार कार्कीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार