Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

महिला साफको नयाँ विजेता बन्यो बंगलादेश



विराटनगर : बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको विजेता बनेको छ । काठमाडौंमा जारी प्रतियोगिताको फाइनल खेलमा नेपाललाई ३-१ गोलले हराउँदै पहिलो पटक बंगलादेशले उपाधि हात पारेको हो ।

काठमाडौंस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा बंगलादेशसँग नेपाल २-० गोलले पछि परेको थियो ।

खेलको १३ औँ मिनेटमा शाम सुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको ४१ औँ मिनेटमा श्रीमोती सरकारको गोलसँगै बंगलादेशले पहिलो हाफमा २-० को अग्रता लिएको थियो ।

दोस्रो हाफको ६९ औँ मिनेटमा नेपालले एक गोल फर्काएको थियो । नेपालका लागि अनिता बस्नेतले गोल गर्दै खेल २-१ को अवस्थामा फर्काएकी थिइन् ।

खेलको ७५ औँ मिनेटमा बंगलदेशका लागि पुनः श्रीमोती सरकारले गोल गरिन् । उनको गोलसँगै बंगलदेशले ३-१ को जित निकालेको हो । जितसँगै बंगलादेशले साफमा पहिलो पटक उपाधि जित्दै इतिहास रचेको छ ।

लगातार पाचौँ पटक विजेता बनेको भारत सेमिफाइनलबाटै पराजित भएपछि साफले नयाँ विजेता टिम पाएको हो । सेमिफाइनलमा नेपालसँग १-० ले पराजित हुँदै भारत सेमिफाइनलबाटै घर फर्किएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार