Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सम्पर्कविहीन भएपछि सन्दीपलाई इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी



विराटनगर : बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछाने सम्पर्कविहीन भएपछि इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी गरिएको छ ।

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका सन्दीप नेपाल नफर्किएपछि इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको हो ।

बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई निलम्बन गरिसकेको छ । उनी अहिले प्रहरी र क्यान दुवैको सम्पर्कमा छैनन् ।

उनीविरूद्ध एक १७ वर्षीया किशोरीले आफूमाथि जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसक्यो । अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले आफू नेपाल फर्कने बताएका थिए । आरोप लागेपछि आफू निर्दोष रहेको भन्दै फेसबुकमा स्टाटस लेखेका सन्दीप अझै नेपाल आइपुगेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार