Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आठौँ संविधान दिवस : प्रदेश सरकारले वृक्षारोपण सहित भव्यताका साथ मनाउने



विराटनगर । आठौँ संविधानदिवस प्रदेश १ सरकारले प्रदेश भरीका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायत काकार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ ।

बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको संविधान दिवस मनाउने तयारी सन्दर्भको छलफलमा तीन दिन सम्म विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको हो ।

जसअनुसार असोज २ गते, प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूले राष्ट्रिय झण्डाका साथै दिवस केन्द्रित ब्यानर सजाई कार्यालय परिसरको सरसफाइ गरिने र साँझमा दीपावली गरिने भएको छ । यस्तै ३गते, विराटनगरको रानीदेखि बरगाछिसम्मको क्षेत्रमा रहेको सडकको बिच भागमा वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरिने छ ।

यस्तै सोही दिन प्रदेशवासी आमनागरिकलाई आ–आफ्नो घर टोल र महत्त्वपूर्ण सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न आव्हान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव गणेश नायकले जानकारी दिनुभयो । यस्तै ४ गते दीपावली गरेर दिवस मनाइने छ ।

२०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै आएको छ । विभिन्न प्रभात फेरी तथा गोष्ठीमा सीमितहुने दिवसलाई यो वर्ष फरक ढङ्गले वृक्षारोपण गरी मनाइने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताए । ‘सडकको सौन्दर्यीकरण र हरियाली बनाउनका साथै जलवायु परिवर्तनको सम्भावित जोखिमलाई कम गर्न वृक्षारोपण कार्यक्रमको आयोजना गरिने भएको हो, उनले भने ।’

वृक्षारोपण कार्यक्रममा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल स्काउटका प्रतिनिधि तथा हामी स्वयंसेवी अभियानका विद्यार्थीहरूको सहभागिता रहने मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार