Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

महिला साफ : श्रीलंकालाई ६-० गोलले हराउँदै नेपाल सेमिफाइनलमा



तस्बीरहरु : सामाजिक सञ्जालबाट

विराटनगर : महिला साफ च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराँउदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दास्रो खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको ९ औँ मिनेटमा रश्मी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसको २ मिनेटमै सरु लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । यस्तै खेलको १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गोल गर्दै नेपालले पहिलो हाफमा ४-० को अग्रता बनाएको थियो ।

पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालका लागि दोस्रो हाफको ७५ औँ मिनेटमा अमिशा कार्कीको गोलमा नेपालले ५-० को अग्रता बनाएको थियो । खेलको इन्जुरी समयमा अमिशाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को जित दिलाईन् ।

पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको थियो । आज श्रीलंकालाई हराउँदै समूह ‘बि’ को विजेतका रुपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

नेपालसँग पहिलो खेलमा पराजित भएको भुटानले पनि सेमिफाइनलमा स्थान पक्का बनाइसकेको छ । भुटानले दोस्रो खेलमा श्रीलंकालाई ५-० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

यस्तै समूह ‘ए’ बाट भारत र बङ्गलादेश सेमिफाइनल पुग्दा माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार