विषय प्रवेश
समाजमा विद्यमान मानिसहरूको समग्र जीवनशैलीबाट निर्मित परम्परा नै संस्कृति हो । रहनसहन, आनीबानी, परम्परा आदिले संस्कृति निर्माण भएको हुन्छ । संस्कृतिभित्र मानव सभ्यता, इतिहास, शिक्षा र जीवनोपयोगी आदि सामग्रीहरूका साथै अर्थहीन रुढिवादी व्यवहार, आचरण र चिन्तनहरू पनि हुन्छन् । संस्कृतिभित्रका सकारात्मक पक्षलाई प्रोत्साहन गर्दे नकारात्मक पक्षलाई निरुत्साहित गर्नुपर्दछ ।
समाजमा संस्कृतिका अनेक आयामहरू छन् । तीमध्ये पठन संस्कृति महत्वपूर्ण आयाम हो । पठन संस्कृति पढने कुरालाई प्राथमिकता दिने संस्कृति हो । पठन भनेको पढनु र संस्कृति भनेको परम्परा हो । यसको अर्थ आफू पनि पढने अरुलाई पनि पढने अवसर जुटाउने हो । यो ज्ञानार्जन र ज्ञानप्रयोगसँग सम्बन्धित संस्कृति हो । पठन संस्कृतिले समाजको शिक्षाप्रणाली र व्यवहारसँग प्रत्यक्ष सरोकार राख्दछ । यसले मानिसको बौद्धिक विकास र प्राज्ञिक व्यवहारलाई प्रत्यक्ष प्रभाव पार्न सक्दछ ।
पुस्तक ज्ञानको स्रोत हो । अनुभवको भण्डार हो । एक व्यक्तिले आफ्नो मात्र जीवन अनुभव गर्ने अवसर पाउँछ तर पुस्तक पढनेले धेरैजनाको जीवनको अनुभव गर्ने अवसर पाएको हुन्छ । पुस्तकका माध्यमबाट जीवनजगत बुझन सकिन्छ । मानिसका सङ्घर्ष र सफलताका कथाले उत्प्रेरणा प्राप्त गर्न सकिन्छ । वेद पुराण ,रामायण गीता, महाभारतकालदेखि आजसम्म आइपुग्दा पुस्तकको महत्व दिनानुदिन बढदो छ । पुस्तकले ज्ञानका साथै आनन्द दिने ,मन बहलाउने अवसर पनि प्रदान गरेको हुन्छ । हामी आफूभित्र विवेकको विकास गरी सचेत र जिम्मेवार नागरिक बनी सकारात्मक समाज निर्माण गर्न चाहन्छौँ । पठन संस्कृतिले यस अभियानमा सहयोग गर्दछ । भोलिका समाजका विभिन्न पक्षका खम्बा भन्नु नै आजका बालबालिका, विद्यार्थीहरू हुन् तसर्थ उनीहरूमा पठन संस्कृतिको विकास गरी भोलिको सभ्य र सुसस्कृत समाज निर्माणका लागि प्रयत्न गर्नु आजको आवश्यकता छ । पुस्तक ज्ञानको भण्डार त हुँदै हो यसको प्रयोग गर्ने बानीले बालबालिकाको सिर्जनात्मक क्षमता समेत बढाउँछ ।
पठन संस्कृतिको अवस्था
अहिले पछिल्लो पुस्तामा पुस्तक पढने बानी घटदै गएको छ । विद्यालय तहका धेरैजसो विद्यार्थीहरूले पनि पढनु भनेको पाठ्यपुस्तकहरू मात्रै पढनु हो भन्ने बुझेका छन् । अभिभावकहरूमा समेत यस्तै खाले धारणाले जरा गाडेको पाइन्छ । विद्यार्थीले पाठ्यपुस्तक अवश्य पढनुपर्छ तर विद्यार्थीहरूका लागि यसले मात्र पर्यात हुँदैन । जसरी एउटा बढदो उमेरको बालकले भात मात्र खाएर पुग्दैन उसले तरकारी फलफूल दूध दही समेत खानुपर्छ । ठीक त्यसै गरी विद्यार्थीले पाठ्यपुस्तकका अतिरिक्त अन्य ज्ञानबद्र्धक पुस्तकहरू अध्ययन गर्नुपर्छ ।
तिमीले पढेका कुनै दुई ओटा पुस्तकहरूको नाम भन भनेर माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सोध्यो भने विद्यार्थी अक्मकिने अवस्था आउने सम्भावना ज्यादा हुन्छ । अथवा विद्यार्थीहरूलाई तिमीले पढेकामध्ये मन पर्ने पुस्तक कुन हो भनेर सोध्यो भने धेरैजसो अलमल पर्न सक्छन् । उनीहरू नेपाली वा सामाजिक वा विज्ञान भनेर जवाफ दिन बेर लगाउँदैनन् ।
विद्यार्थी भन्ने बित्तिकै विद्या आर्जन गर्न चाहने व्यक्ति भन्ने बुझिन्छ । तसर्थ विद्या वा ज्ञानको स्रोत पुस्तक पढने बानी विद्यार्थीको घटनुलाई मनासिव मान्न सकिन्न । त्यसैले आमाबाबुले पनि बालबालिकाहरूको शारीरिक विकासमा मात्रै नभई मानसिक वा मनोवैज्ञानिक पक्षमा सुधार ल्याउन उनीहरूलाई गुणस्तरीय बाल साहित्य पढन प््रेरित गनुृपर्छ ।
पहिले आमा बुबा, हजुरबा हजुरआमाले बालबच्चालाई कथा सुनाउने गर्थे । त्यस्ता कथाले नैतिकवान, चरित्रवान र सकारात्मक चिन्तनयुक्त व्यक्ति निर्माण गर्न ठूलो भूमिका खेलेको हुन्थ्योे । त्यो चलन प्राय घट्दो छ । ससाना उमेरका बालबच्चालाई सकारात्मक चरित्रको विकास गर्ने खालका कथा सुनाउने गर्नु राम्रो हुन्छ । विद्यार्थीहरूमा क्रमशः पढाइप्रति रुची खस्कँदो छ । एक त विद्यार्थीहरू पुस्तकमा रमाउने भन्दा अन्य फजुल कुरामा समय कटाउने क्रम बढदो छ । जेहेन्दार भन्ने विद्यार्थीहरू पनि कक्षागत पाठ्यपुस्तकसिवाय अरू पुस्तक पढन आवश्यक ठान्दैनन् । यस प्रवृत्तिले विद्यार्थीहरूको ज्ञानको दायरालाई संकुचन पार्ने काम भइरहेको हुन्छ । उनीहरूमा रहेको सिर्जनात्मक क्षमता पनि मरिरहेको हुन्छ; कल्पनाशीलता जुर्मुराउन पाएको हुँदैन । यतिबेला विद्यार्थीहरूमा मात्र होइन नेपाली समाजमा नै पठन संस्कृतिप्रतिको रुची घटदो छ । त्यसैले स्कुल कलेजहरूमा समेत समसामयिक घटना विषयवस्तु, बदलिँदो परिस्थिति, देश समाजका सामाजिक, आर्थिक राजनीतिक, सांस्कृतिक आदि विषयवस्तुहरू ख्याल गरेर पठन वातावरणको सुदृढीकरण गर्न आवश्यक छ ।
हामीलाई लाग्न सक्छ, अहिलेको युगमा मोबाइल र कम्प्युटरमै पुस्तक उपलब्ध छन् । अझ पुस्तक श्रव्य रुपमा पनि उपलब्ध भइरहेका छन् । त्यसैले कागजी पुस्तक किन पढिरहनु प¥यो ? पुस्तक जुन रूप, जुन तरिकाबाट भए नि पढन सकिन्छ । तर कागजी पुस्तकमा डुबेर पढनुको मज्जा मोबाइल र कम्प्युटरका पर्दामा घोत्लिँदा पाइँदैन ।
विद्यार्थी जीवनमा कोर्सका बाहेक अन्य पुस्तक पढनु हुँदैन भन्ने चिन्तन पनि कतैकतै पाइन्छ । यो गलत धारणा हो । हो, सबै पुस्तकहरू राम्रा हुँदैनन् । सबै खानेकुरा पनि राम्रा हुँदैनन् । खाँदा पनि राम्रो नराम्रो छुट्याएर मात्र खानुपर्दछ । ठीक त्यसै गरी हितकर पुस्तक मात्र अध्ययन गर्नुपर्दछ । मानसिकतालाई दिग्भ्रमित गर्ने असत प्रकृतिका पुस्तक भने अध्ययन गर्नुहुँदैन । यौन अश्लील, छाडा, अपराधलाई बढावा दिने, गलत सूचना दिने खालका, कुनै धर्म, जाति, संस्कृतिप्रति द्वेष राख्ने खालका पुस्तकबाट बालबालिकालाई टाढै राख्नुपर्दछ ।
मोबाइल र इन्टरनेटको दुरुपयोग
अहिले हामी सबै हातहातमा मोबाइल र घरघरमा इन्टरनेटको पहुँच छौ । सूचना प्रविधिको यो अभूतपूर्व उपलब्धिले हाम्रो जीवनस्तरको वृद्धि समेतको सङ्केत गरेको छ । प्रविधिको विकासलाई आत्मसात गर्नुको विकल्प छैन । गाई ब्यायो भनेर पठाएको चिठी गाई थाकेपछि पुग्ने अनुभव व्यहोरेका हामी नेपाली अहिले एक घण्टा मोबाइल स्विच अफ गरेको कुरा कल्पना गर्न सक्दैनौँ । तर अहिलेको प्रश्न यो हो कि हातमा पुस्तक, पेन्सिल र कपी हुने ससाना हातमा मोबाइल राखी दिँदा यसले फाइदा गर्छ कि बेफाइदा ?
विदेशबाट घर फर्केका बाबु, आमा, दाजुले छोराछोरी भाइबहिनीलाई ल्याइदिने कोशेलीको पहिलो नम्बरमा मोबाइल नै पर्दछ । अहिलेका अधिकांश विद्यार्थीहरूको हातमा मोबाइल छ । बालबालिकालाई अभिभावकले मोबाइलका रूपमा नसालु पदार्थ हातमा राखिदिएजस्तै हो ।
धेरैजसो विद्यार्थी त विद्यालय आउँदा मोबाइल लिएर आउने गर्दछन् । मोबाइलका कारण विद्यार्थीहरू गलत मानिसका सम्पर्कमा पर्ने गरेको पनि देखिएको छ । एकछिन घरकै कुरा गर्ने हो भने पनि कोही फेसबुकमा व्यस्त हुन्छन् । कोही युटुवमा झुम्मिन्छन् । कोही टिकटकमा रमाइरहेका हुन्छन् । धेरैले मोबाइल गेममा समय बर्बाद गर्ने गरेका छन् । फेसबुकमा दिनहुँजसो व्यक्तिगत क्रियाकलाप र फोटो सार्वजनिक गरेर रमाइरहेका हुन्छन् । यसै गरी फ्रिफायर र पब्जी जस्ता इन्टरनेट खेलका माध्यमबाट बालकमा कोमलता, दया जस्ता भावना ह्रास हुँदै जाने र आपराधिक मानसिकताको जन्म हुन पुग्ने सम्भावना रहन्छ । लत भनेको जुन सुकै कुराका लागि पनि हितकर हुँदैन । मोबाइलको लतले पनि कलिलो बाल मनस्थितिमा नकारात्मक असर पारिरहेको हुन्छ । यसले विद्यालयका उमेरका बालबालिकाको सिर्जनात्मक क्षमतालाई निस्कृय पारिरहेको हुन्छ । विद्युतीय सामग्रीको बढी प्रयोग गर्ने बालबालिका झगडालु र छिटो रिसाउने किसिमका बन्छन् । उनीहरू एकलकाँटे र अरुको वास्ता नगर्ने बन्छन् । एकाग्रता क्षमता घटदै जान्छ; जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्तिको विकास हुन्छ ।
बालबालिकाहरू मोबाइल र इन्टरनेटको प्रयोग गरी आफ्नो अध्ययन, ज्ञान, सिकाइ वृद्धिमा नगरी केवल हल्का फुल्का र सस्ता मनोरञ्जनमै रमाइरहेका हुन्छन् । जे चिज नि उमेर र आवश्यकतामा आधारित हुनुपर्छ । एउटा घर छोडेर डेरामा बस्ने विद्यार्थीलाई मोबाइल अनिवार्य हुन्छ तर घरमै बसेर अध्ययन गर्ने आठ नौ कक्षाका विद्यार्थीका लागि मोबाइल नभइ नहुने चिज होइन । विद्यार्थीलाई निर्बाध मोबाइल प्रयोग गर्न दिनु उनीहरूलाई बिगार्नु हो । मोबाइलको अधिक प्रयोगले पुस्तकमा रमाउनु पर्ने बालक पुस्तकबाट बिस्तारै टाढिदै जान थाल्छन् । अनि पढाइको समय कटौती त हुन्छ नै उनीहरूको मन अनावश्यक चञ्चल भई पढाइप्रति उदासिनता बढेर जान्छ । कतिपय विद्यार्थी उमेरै नपुगी कथित कच्चा प्रेम (?) को फन्दामा परी पढाइ र जिन्दगी नै बर्बादीको मुखमा पुग्न बेर लाग्दैन । यसमा पनि धेरथोर मोबाइलले वातावरण मिलाइदिएको देखिन्छ । टिन्स उमेरका बालबालिकामा बहकाउमा लाग्ने, भावनामा डुब्ने ज्यादा सम्भावना भएकोले पनि अभिभावकले विशेष ध्यान पु¥याउन जरुरी छ ।
वास्तवमा समस्या मोबाइल (विद्युतीय सामग्री) भन्दा पनि मोबाइल दुरूपयोगको हो । बालबालिकाहरूलाई मोबाइल छुनै दिनु हुन्न भन्ने होइन । बालबालिकालाई विद्युतीय सामग्रीसँग परिचित गराउनुपर्छ । चलाउन सिकाउनु पर्छ । तर ज्यादा स्वच्छन्दताले पार्ने नकारात्मक प्रभावलाई भने शिक्षक र अभिभावकहरूले सचेततापूर्वक विचार गर्न आवश्यक छ ।
विद्यार्थीहरूले मोबाइलमा डिक्सनरी डाउनलोड गरेर कठिन शब्दको अर्थ खोजेर सिकाइमा सुधार ल्याउन सक्छन् । पठनपाठन सम्बन्धी सम्पूर्ण विषयको जानकारी गुगल राखिदिएको छ । त्यसबाट आफूलाई आवश्यक पर्ने कुरा खोजी गरेर नजानेको कुरा सिक्न सकिन्छ । आफ्नो ज्ञानको भण्डार फराकिलो पार्न सकिन्छ । मोबाइल र इन्टरनेटको माध्यमबाट शिक्षण सिकाइसँग सम्बन्धित धेरै कुरा खोज्न सकिन्छ । तर बालबालिकाले सिकाइका लागि मोबाइल र इन्टरनेटको प्रयोग अत्यन्त थोरैले मात्र गर्दछन् । केवल हल्का मनोरञ्जनका लागि यसको प्रयोग बढी हुने गरेको छ । दुखको कुरा हरेक दिन मोबाइल र सामाजिक सञ्जालमा झुम्मिने विद्यार्थीको दिमागबाट पठन संस्कृति दिनानुदिन विमुख हुँदैछ ।
पठन संस्कृतिको आवश्यकता
पठन संस्कृतिको विकास समाज समृद्धिको सङ्केत पनि हो । अध्ययनशील मानिसहरूको चिन्तनले नै समाजको चिन्ता दूर गर्न सहयोग पुग्दछ । सानैदेखि बालबालिकालाई पुस्तकप्रतिको भोक जगाउने जिम्मेवारी अभिभावक र शिक्षकको हो । विद्यार्थीहरूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौडेल, नाट्य सम्राट बालकृष्ण समलगायत भूपी सेरचन, पारिजात विश्वेश्वरप्रसाद कोइराला आदिका कालजयी कृतिको तथा नयाँ पुस्ताका कवि लेखकहरूका चर्चित पुस्तककृतिसँग परिचित गराउनुपर्छ । विश्व प्रसिद्ध साहित्यकार, वैज्ञानिक राजनीतिक व्यक्तित्व, सफल व्यवसायीहरूको जीवनी अध्ययन गर्न लगाउनुपर्दछ । भविष्यका उत्कृष्ट साहित्यकार, सर्जक उत्पादन गर्न पनि पठन संस्कृतिले सहयोेग पु¥याइरहेको हुन्छ । शिक्षकहरूले स्वय्म पनि आफूलाई अद्यावधिक गर्नका लागि व्यस्तताका बीचमा पनि समयको जोहो गरेर नियमित रूपमा पुस्तकहरू अध्ययन गर्नुपर्छ । विद्यार्थीहरूलाई शिक्षकहरूले समय मिलाएर वर्षको कम्तिमा पनि चार पाँच ओटा पुस्तक आफनो रुचिअनुसार पढन प्रेरणा दिनुपर्छ । उनीहरूलाई पढनुको महत्वका बारेमा बुझाउनुपर्दछ । विद्यालयको पुस्तकालयमा नयाँ प्रकाशन भएका उपयोगी पुस्तक खरिद गरिदिएर पुस्तकालयलाई अद्यावधिक गरिदिनुपर्छ । विद्यार्थीहरूले पनि आफ्ना विद्यालयमा भएका पुस्तकालयको भरपूर उपयोग गर्नुपर्दछ ।
व्यक्तिको आनिबानी निर्माणमा परिवार र समाजको अहम् प्रभाव परेको हुन्छ । परिवारमा आमाबुबा ज्येष्ठ सदस्यका साथै समाजका अग्रज तथा विद्यालयका शिक्षक र सााथीहरूको प्रभावमा बालक हुर्किरहेको हुन्छ । घरपरिवार र विद्यालयमा पठन संस्कृतिलाई प्रोत्साहन गर्ने वातावरण छ भने ससाना बालबालिका, विद्याथीहरूमा पुस्तक पढने र पुस्तकबाट सिक्ने बानीको विकास हुन्छ । पठन संस्कृतिले बालबालिकाको ज्ञानको दायरा फराकिलो बन्छ । उनीहरूको पढाइमा समेत सकारात्मक प्रभाव पार्छ । उनीहरूलाई सिर्जनशील बन्न प्रेरणा र वातावरण प्राप्त हुन्छ । ससाना बालबालिकाले बाल साहित्यसँगसम्बन्धित कथा कविताका पुस्तक पढनु पर्छ भने अलि ठूला विद्यार्थीले इतिहास, भूगोल, साहित्यिक कथा, कविता,निबन्ध नाटक, जीवनी, विज्ञानसँग सम्बन्धित पुस्तक पढनु राम्रो हुन्छ ।
बालबालिकालाई असल बनाउन बाबुआमा धेरै चिन्तनशील हुने गर्छन । यसका लागि राम्रा पुस्तक पढन दिनु पनि एउटा उपाय हो । अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई जन्म दिन लगायत विभिन्न अवसरमा उपहार दिँदा उपयोगी पुस्तकहरू दिने परम्परा बसाल्नु राम्रो हुन्छ । सहरबजारबाट घरमा आउँदा छोराछोरीलाई चकलेट, बिस्कुट, कोशेली, खेलौना ल्याउँदा बालोपयोगी पुस्तक र बाल पत्रिका समेत ल्याइदिने गर्नुपर्दछ । यसले पठनसंस्कृतिमा सहयोग पुग्दछ । विद्यार्थीले पाठ्यपुस्तक अतिरिक्त विविध विषयका पुस्तक पढनुपर्छ । पठन संस्कृतिको विकास गर्नका लागि बालबालिकाहरूमा पढ्ने बानीको विकास गर्नु जरुरी छ । बालसाहित्य र जीवनोपयोगी विभिन्न विधाका पुस्तकहरू किन्ने र आफ्ना बालबालिकाहरूलाई पढ्न उत्प्रेरित गर्न सकियो भने बालबालिकाहरूमा पढ्ने बानीको विकास गर्दछ । बाहिरी पुस्तकको अध्ययनबाट आफ्ना पाठ्यपुस्तकहरूप्रति पनि उनीहरूमा अभिरुचि बढ्दै जान्छ । त्यस्तै विद्यालयहरूले पनि नियमित बालसाहित्य र बालपत्रिकाहरूको नियमित पढ्ने व्यवस्था गर्न आवश्यक छ । प्राथमिक तहका कक्षामा पुस्तक कुनाको व्यवस्था गरेर ससाना बालबालिकाहरूमा प्रारम्भदेखि नै अतिरिक्त पुस्तक पढन पाउने वातावरण सिर्जना सकिन्छ । यसले पनि विद्यार्थीहरूमा पठनरुचि बढ्दै जाने र त्यसले अन्ततः समग्र शिक्षण सिकाइमै सकारात्मक प्रभाव पार्ने सुनिश्चित छ । घर नै बालकको पहिलो पाठशाला हो । घरमा पनि पठन मैत्री वातावरण सिर्जना गर्नुपर्छ । मानिसको दिमागलाई आवश्यक पर्ने खुराक राम्रा किताबले परिपूर्ति गर्छन । चौबिसै घण्टा मोबाइल र इन्टरनेटमा झुम्मिने बालबालिकाका हातमा किताब थमाउन सकियो भने अवश्य भलो हुन्छ ।
घरमा परिवारका अन्य सदस्यहरूले नियमित पुस्तक पढ्ने संस्कार बसाल्न सकियो भने बालबालिकाहरू ले देखासिखी गर्छन् । उनीहरू अध्ययनप्रति अभिमुख हुन्छन् । अरू बेला त छँदैछ बर्खे बिदामा, दशै बिदामा, वार्षिक परीक्षा सकिएपछिको लामो बिदामा समय बिताउनका लागि बालबालिकालाई सकेसम्म राम्रा किताब पढने वातावरण मिलाइदिनु पर्दछ । विद्यालयमा रहेका पुस्तकालयले पठन संस्कृति निर्माणमा सहयोग पु¥याउन सक्दछन् ।
पठन संस्कृतिले मानिसलाई अध्ययनशील बनाउन सहयोग गर्छ । यसले गर्दा पुस्तकलाई प्रेम गर्ने भावनाको विकास हुन्छ । पठन संस्कृतिले विद्यार्थीको पढाइमा समेत सकारात्मक नतिजा ल्याउन सहयोग पुग्दछ । विद्यार्थीको ज्ञानको भण्डार त फराकिलो हुन्छ नै, उसमा अनुभव र परिपक्कता जस्ता सदगुणको पनि विकास हुन्छ । विद्यार्थीमा सिर्जनशीलता र कल्पनाशीलताको प्रचुर विकास हुन्छ । नैतिक चरित्रवान व्यक्तित्व निर्माण गर्न पनि कुनै न कुनै किसिमले सहयोग गरिरहेको हुन्छ । अतः शिक्षक, विद्यालय, परिवार र अभिभावकले पठन संस्कृति विकासमा अह्म भूमिका निर्वाह गर्नुपर्छ ।