विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रतिपक्षलाई विभिन्न झुठा आरोप लगाएर जनतामा भ्रम फैलाइरहेको बताएका छन् । शनिवार विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा पूर्व प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण देश भयावह स्थितिमा पुगेको बताएका हुन् ।
आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचन जनताको भाग्य र भविष्य फैसला गर्ने निर्वाचन भएको बताउँदै ओलीले देश विकासका लागि जनताले एमालेलाई विजय गराउनुपर्ने बताए ।
गठबन्धनका नाममा केही नेताहरु आफ्नो स्वार्थ पुरा गर्न र नातागोताको भरणपोषणका लागि लागेको उनको आरोप छ । ‘गठबन्धनका चार ठुला नेता मिलेर देशमा लुटतन्त्र मच्चाइरहेका छन्,’ उनले भने, ‘यस्ता नेताबाट जोगाउन आगामी मंसिर ४ मा जनताले एमालेमा मतदान गर्नुपर्छ ।’
राष्ट्रपतिले नागरिकता विधेयक स्वीकृत नगरे राजिनामा दिनुपर्छ भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति प्रति कटाक्ष गर्दै ओलीले भने, ‘प्रचण्डको आदेशमा राष्ट्रपतिले राजिनामा दिनुपर्ने हो ? वाहियात कुरा, मसल्स देखाउने ?
नागरिकता विधेयक संसोधन गरे मात्रै पास हुन सक्ने ओलीले बताएका छन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता पाउने कुरा खुलाए तीन दिनमै पास गर्ने उनले बताए ।
अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रिय राजनीतिलाई द्वन्दतिर धकेल्न खोजेको आरोप लगाएका छन् । ‘राष्ट्रिय राजनीतिलाई द्वन्द र तनावतिर लाने, लोकतन्त्र होइन भिडन्ततिर लैजान गठबन्धन सरकार लागि परेको छ,’ ओलीले भने, ‘यो सरकार काम गर्नभन्दा पनि तमासा देखाउन लागेको छ ।’
अघिल्लो निर्वाचनमा प्रशासन कमजोर देखिएको ओलीले बताए । प्रशासन सञ्चालनको जिम्मा निर्वाचन आयोगले लिएर न्यायधिसमार्फत स्वच्छ र निष्पक्ष बनाउन ध्यान दिनुपर्ने अध्यक्ष ओलीको भनाई छ ।
बुद्धिजिवी परिषद् प्रदेश १ को पहिलो अधिवेशन र जितिया कार्यक्रमका लागि ओली विराटनगर आएका हुन् ।