Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पारिश्रमिक कटौती भएको भन्दै विराटनगरका बाल विकास शिक्षकहरू आन्दोलित



विराटनगर : विराटनगर महानगरपालिकाले बाल विकास शिक्षकले पाउँदै आएको पारिश्रमिक कटौती गरेको विरोधमा बालविकास शिक्षकहरू आन्दोलित भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी महानगरपालिकाले बाल विकास शिक्षकको मासिक पारिश्रमिकमा २ हजार रुपियाँ कटौती गरेपछि बालविकास शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।

महानगरपालिकाले यसअघि बाल विकास शिक्षकलाई मासिक ७ हजार रुपियाँ दिँदै आएको थियो ।

आर्थिक वर्ष २०७९(०८० महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा बजेट व्यवस्थापन गरिनुपर्ने भन्दै २ हजार रुपियाँ घटाएर मासिक ५ हजार रुपियाँ दिने निर्णय गरिएको छ । सोही निर्णाय अनुसार महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले १७ भदौमा विराटनगरका सम्पूर्ण सामुदायिक विद्यालय, बालविकास केन्द्रहरूलाई परिपत्र गरेको छ ।

खाइपाई आएको पारिश्रमिक बढाउनुपर्नेमा आर्थिक व्यभार बढेको भन्दै दैनिक ६ घण्टा श्रममा खटिने बाल विकासको शिक्षकहरूको पारिश्रमक कटाएपछि आन्दोलनमा उत्रिएको बाल विकास शिक्षक सङ्घ मोरङकी अध्यक्ष लीला धमालाले बताइन् ।

विराटनगर महानगरपालिकाभित्रका १ सय ४६ जना बाल विकास शिक्षकहरू भदौ १९ गतेदेखि चरणबद्ध आन्दोलनमा छन् । विराटनगर महानगरपालिको गेटमा धर्ना दिएर खाइपाई आएको पारिश्रमिक कटौती नगरी महानगरले दिने ७ हजार रुपियाँ कायम गर्नुपर्ने माग उनीहरूको छ ।

दैनिक ६ घण्टासम्म बालबालिकाहरूको पठनपाठनमा खटिने शिक्षकको पारिश्रमिक वृद्धि गरिनुपर्नेमा विराटनगर महानगरपालिकाले शिक्षकहरूको तलब घटाएर अन्याय गरेको बाल विकास शिक्षक सङ्घर्ष समितिको संयोजक सावित्रा निरौलाको भनाई छ।

महानगरपालिकाले दिँदै आएको पारिश्रमिक सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने निरौलाको भनाइ छ ।

पहिलो चरणको आन्दोलनबाट बाल विकास शिक्षकको माग पुरा नभए दोस्रो चरणको सशक्त आन्दोलन सुरू गर्ने बाल विकास शिक्षक सङ्घ मोरङकी अध्यक्ष लीला धमालाले बताइन् । जिल्लामा ९ सय जना बाल विकास शिक्षकहरू छन् ।

विराटनगर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाले बाल विकास शिक्षकहरूले खाइपाइ आएको तलव कटौती नभएको दावी गरेका छन् ।

सङ्घीय सरकारले पठाउने रकम बढेपछि महानगरले पारिश्रमिक कटौती गरेको महाशाखा प्रमुख खतिवडाले बताए । सङ्घीय सरकारले यसअघि ८ हजार र महानगरपालिकाले ७ हजार रुपियाँ दिने गरेको थियो ।

आफूहरूका माग सम्बोधनका विषयमा भदौ २० गते विराटनगर महानगरपालिकाका मेयर र शिक्षा शाखाप्रमुखसहित बैठक बसेको भएपनि निकास नस्किएको बाल विकास शिक्षक सङ्घ मोरङकी अध्यक्ष लीला धमालाले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार