विराटनगर : गत शुक्रबार उदपयुरको बेलकामा एकै परिवारका तीन जनाको हत्या गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ।
बेलका नगरपालिका ७ गोवाटारका एउटै परिवारका ३ जनाको हत्या गरेको आरोपमा प्रहरी स्थानीय ४३ वर्षीय नर बहादुर बस्नेतलाई पक्राउ गरी सार्वजानिक गरेको हो।
शुक्रबार बिहान गोवाटार स्थित वाबिङ खोलामा स्थानीय ३७ वर्षीय राज कुमार बस्नेत, उनको ३३ वर्षीया श्रीमती सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको नरबहादुरले खुकुरी प्रहार गरी हत्या गरेका थिए। नरबहादुर र राजकुमार नातेदार हुन्।
खेतमा धान गोडेर फर्कँदै गरेका तीनै जनाको धारिलो हतियारको प्रहारबाट हत्या भएको अवस्थामा लास फेला परेको थियो।
घटनापश्चात फरार रहेको नरबहादुरलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-६ बरबोटेबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। प्रहरीले उनको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका बस्नेतको जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।