Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रतिनिधिसभा निर्वाचन : मोरङ-३ मा शर्मा सर्वसम्मत, ६ मा कोइरालासहित ४ जना सिफारिस



विराटनगर : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा नेपाली कांग्रेसले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

६ वटा संघीय निर्वाचन क्षेत्र रहेको मोरङमा कांग्रेसले आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।

मोरङ क्षेत्र नम्बर १ बाट कांग्रेसले चार जनाको नाम सिफारिस गरेको छ । संविधानसभा सदस्यसमेत रहेको मोरङका जिल्ला सभापति डिकबहादुर लिम्बूसहित रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको नाम सिफारिस भएको छ ।

मोरङ २ बाट बहालवाला संसद डा. मिनेन्द्र रिजाल र सुजता कोइरालाको नाम सिफारिस गरेको छ । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेका ऋषिकेश पोखरेललाई मिनेन्द्र रिजालले पराजित गरेका थिए ।

मोरङ ३ बाट भने डा. शुनिल शर्माको एकल नाम सिफारिस भएको छ । शर्मा अघिल्लो निर्वाचनमा उम्मेदवार थिए । उनी एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए ।

क्षेत्र नम्बर ४ बाट ५ जनाको नाम सिफारिस भएको छ । यस क्षेत्रबाट महेश आर्चाय, भीम पराजुली, अमृत अर्याल, गुरुराज घिमिरे र दिलिप गच्छदारको नाम सिफारिस भएको छ । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट आचार्य एमाले माओवादीबाट उम्मेदवार बनेका माओवादीका अमनलाल मोदीसँग पराजित भएका थिए ।

अमृत अर्यालको नाम क्षेत्र नम्बर ५ बाट पनि सिफारिस भएको छ । उनीसँगै यो क्षेत्रबाट हसन अन्सारीको नाम सिफारिस भएको छ । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट अर्याल पराजित भएका थिए । २०७४ को निर्वाचनमा माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका थिए ।

नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालको निर्वाचन क्षेत्र रहेको मोरङ क्षेत्र नम्बर ६ मा चार जनाको नाम सिफारिस भएको छ । यस क्षेत्रबाट कोइरालासँगै डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भएको छ । यस क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका लालबाबु पण्डितसँग कोइराला पराजित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार