Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा दुई पक्षबिच झडप हुँदा १० जना घाइते


  • Purbeli Press
  • बुधबार, भाद्र ८ २०७९

विराटनगर : विराटनगरमा दुई पक्षबिच झडप हुँदा १० जना घाइते भएका छन् । मंगलबार बेलुका विराटनगर महानगरपालिका–१२ मा रहेको मल्हन्वा टोलमा दुई पक्षबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीका अनुसार घाइते १० जनामध्ये एक जनाको अवस्था गम्भीर छ ।

पुरानो रिसिबीलाई लिएर गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच दोहोरो झडप भएको हो । झडपमा परी राजकुमार गम्भीर घाइते भएका छन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।

झडपमा परी अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी, धनपथ राजवंशी, दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

पुरानो घटनाको रिसिबीलाई लिएर विवाद झिकिएको र विवाद दोहोरो झडपमा परिणत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार