Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको जहदामा महिलामाथि बलात्कार प्रयास, भारतीय नागरिक पक्राउ



विराटनगर । मोरङको जहदा गाउँपालिका–५ की एक जना महिलामाथि भारतीय नागरिकले बलात्कारको प्रयास गरेका छन् ।

भारतबाट मङ्गलबार दिउँसो नेपाल प्रवेश गरेर अररिया घर भएका २३ वर्षीय मोहमद हजमले २५ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरमा कोही पनि नभएको अवस्थामा छिरेर हजमले करणीको प्रयास गरेको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ ।

जबरजस्ती गर्न खोजेको आरोपमा हजमलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको श्रेष्ठले बताए । एक्लै भएको मौकामा घरभित्र छिरेर हजमले बलात्कारको प्रयास गरेपछि महिलाले होहल्ला गरेकी थिइन् । त्यसपछि हजम फरार बनेका थिए ।

परिवारका सदस्यले घटनाका बारेमा जानकारी दिएपछि उनलाई साँझ पक्राउ गरिएको डिएसपी श्रेष्ठको भनाइ छ । प्रहरीले हजमविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार