विराटनगर : राधाकृष्ण रथयात्रामा उच्छृङ्खल गतिविधि गर्ने ५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई विराटनगरका विभिन्न क्षेत्रबाट शनिबार पक्राउ गरिएको हो।
रथयात्राका क्रममा सामान चोरी गर्ने, मादक पदार्थ सेवन गरेर होहल्ला मच्चाउने र मोवाइल चोरीमा संलग्नलाई पक्राउ गरी अनुसन्धान थालिएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए ।
डिएसपी कार्कीका अनुसार पक्राउ परेका अधिकांश ३० वर्षसम्मका पुरुष छन् । पक्राउ परेकाहरुको साथबाट केही सुनका गरगहना र मोवाइल फेला पारेको उनले बताए ।
आफ्नो सामान हराएको भन्दै मोरङ प्रहरीमा हालसम्म ११ वटा उजुरी परेको कार्कीले जानकारी दिए । उजुरी परेकामध्ये चार वटा सिक्री हराएको र सात वटा मोवाइल हराएको छ ।
पक्राउ परेकामाथि अनुसन्धान अघि बढाएर कारबाहीको प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ ।
विराटनगरमा दुई वर्षपछि शनिबार दिउँसो रथयात्रामा निकालिएको थियो । विगतका वर्षमा भन्दा यस वर्ष तुलनात्मक रुपमा भक्तजनको सहभागी कम रहेको आयोजकले जनाएको छ ।
रथयात्रामा छिमेकी मूलुक भारतबाट समेत भक्तजनाको भीड लागेको थियो । हरेक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा राधाकृष्णको युगल जोडिको रथयात्रा निकाल्ने परम्परा छ। तर, पछिल्लो दुई वर्षदेखि कोरोना माहमारीका कारण रथयात्रा सामान्य खटयात्रामा सिमित थियो। विराटनगरमा वि.सं. २०२५ सालदेखि रथयात्रा निकाल्न सुरु गरिएको हो।