इटहरी । जातीय सामाजिक सद्भावमा खलल पुगेको भन्दै दुई वटा फेक पोस्टविरुद्ध साइबर ब्युरोमा उजुरी गरिएको छ । विद्युतीय कारोबार ऐनअन्तर्गत छानविन र कारवाहीको माग गर्दै उजुरी दिइएको हो ।
धरानका मेयर हर्क साम्पाङले शेयर गरेको पोस्टविरुद्ध निवर्तमान उपमेयर तथा एमाले नेतृ मन्जु भण्डारी र इटहरीकी प्राध्यापक कृष्णकला राईले शेयर गरेको पोष्टविरुद्ध पत्रकार मिलन बुढाथोकीले उजुरी गरेका हुन् ।
भण्डारीले लेखेको भन्दै एउटा फेक फेसबुक पोस्टको स्क्रिनसट भाइरल भएको थियो । उक्त पोष्टमा उनले आफ्नो पार्टी एमालेका राई लिम्बुहरुलाई मेयर साम्पाङविरुद्ध उत्रिन अनुरोध गरिएको थियो । फोटोसपमा तयार गरिएको उक्त सामाग्रीका कारण जातिय र साम्प्रदायिक द्वन्द भड्काउने गरी मेयरले नै पोष्ट गरेको भन्दै मेयरविरुद्ध उजुरी दिएकी हुन् ।
उनले आफूले आजसम्म कुनै जातिय वक्तव्य नदिएको भन्दै सोच्नै नसक्ने कुरा फेसबुक पोस्टको रुपमा सार्वजनिक गरिएकोले उजुरी दिएको जानकारी पत्रकार सम्मेलन गरेर दिएकी छिन् ।
यस्तै एमाले धरानले गरेको भनिएको ग्रुप च्याटको स्क्रिन सटमा आफ्नो समेत फोटो र सामुदायिक भावनामा ठेँस पुर्याउने झुटो कुराकानीको स्क्रिन सट शेयर र ट्याग गरिएको भन्दै पत्रकार बुढाथोकीले प्राध्यापक कृष्णकला राईविरुद्ध उजुरी दिएका छन् ।
उक्त म्यासेजमा नेतृ भण्डारी, युवा नेता जीवी गजल र बुढाथोकीले म्यासेज गरेको देखिन्छ । जसमा राईलिम्बु समुदाय र मेयर साम्पाङविरुद्धको कुराकानी उल्लेख छ ।
दुवै पोष्टहरुले धरान तताएको थियो र उपमेयर तथा च्याटमा उल्लेख गरिएका व्यक्तिहरुविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त भएको थियो । न्युजलयबाट