Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा प्रदर्शनीस्थल निर्माणका लागि मेयरद्वारा आपूर्तिमन्त्रीको ध्यानाकर्षण


  • Purbeli Press
  • बुधबार, साउन ११ २०७९

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा औद्योगिक तथा व्यापारिक प्रदर्शनीस्थल निर्माणका लागि संघीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

विराटनगर आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मेयर कोइरालाले विराटनगरमा व्यापार मेला गर्न स्थान अभाव भएको सुनाए । उनले औद्योगिक तथा व्यापारिक मेला आयोजना गर्न प्रदर्शनीस्थलको अभाव रहेको बताए । जग्गाको व्यवस्थापन महानगरपालिकाले गर्नेसमेत उनको भनाइ थियो ।

“मन्त्रीज्यू बजेट छुट्याएर मन्त्रिपरिषद्बाट निर्णय गराउनुहोस्, हामी जग्गा उपलब्ध गराउन तयार छौं,” मेयर कोइरालाले भने, “प्रदर्शनीस्थलको अभावमा यहाँका उद्योगी व्यवसायीहरुले हरेक वर्ष जग्गा भाडामा लिएर मेला लगाउने गरेका छन् ।” मेयर कोइरालाले नेपालको पहिलो उद्योग स्थापना भएको नगर भए पनि पछिल्लो समय विराटनगरको विकासमा संघीय सरकारले बेवास्ता गरेको गुनासोसमेत गरे ।

कोइरालाले कम्तीमा बजेट छुट्याएर काम सुरु गरे निर्माणको जिम्मा महानगरले लिने बताए । त्यस्तै मेयर कोइरालाले सुनसरीको अमडुवामा रहेको ६५० बिघा जग्गामा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गर्न आग्रह गरे । मन्त्री बडूसितको भेटमा मेयरका साथ नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंको समेत उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार