विराटनगर : कचनकवलमा तीन जना किशोरीले आत्महत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
गत आइतबार बिहान झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्ले गाउँस्थित सुनकोसी चिया बगानमा उनीहरुको शव फेला परेको थियो ।
कचनकवल गाउँपालिका–५ की १७ वर्षीया अञ्जली, सोही स्थान बस्ने १६ वर्षीया करिना र १७ वर्षीया कल्पना गणेशको बयरको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।
घर नजिकैको चिया बगानमा काम गर्ने तीनै जना शनिबार दिउँसो घुम्न जाने भन्दै घरबाट निस्किएका थिए । घरबाट पूर्वमा रहेको झिङ खोलाको डिलमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थाम चिया टिन्न जानेहरुले देखेपछि प्रहरलिाई खबर गरेका थिए ।
प्रहरीले तीनै जनाको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । शवको पोस्टमार्टम गर्दा झुन्डिएर मृत्यु भएको देखिएको झापाका प्रहरी प्रमुख विश्वमणी पोखरेलले जानकारी दिए । उनका अनुसार आत्महत्याको कारणबारे भने केही खुल्न सकेको छैन् ।
घटना धेरै शंकास्पद नदेखिए पनि अनौठो प्रकारको भएकाले सुक्ष्म ढंगबाट अनुसन्धान गरिने पोखरेलले बताए ।