Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सामुदायिक कुकुर उर्फ ‘भुस्याहा कुकुर’


  • Purbeli Press
  • शुक्रबार, असार २४ २०७९

धेरै वर्ष अगाडी मैले विराटनगरको भुस्याहा कुकुरको अवस्था र त्यसले पारेको प्रभावका विषयमा समाचार लेखेको थिए । त्यो समाचार प्रकाहित भएपछि एक जना पशु अधिकार कर्मीले भुस्याहा कुकुर भनेर लेखेकोमा आपत्ति जनाउँदै पशु अधिकार हनन भएको र त्यसलाई भुस्याहा नभनेर सामुदायिक कुकुर भननुपर्ने अडान राखेपछि त्यसयता मैले भुस्याहा कुकुरलाई सामुदायिक कुकुर भन्ने गरेको छु ।

अधिकारकर्मीहरुको आन्दोलनका कारण यतिखेर त्यस्ता कुकुरहरुलाई मार्न नपाइने नियम छ । नत्र पहिला पहिला नगरपालिकाले कुकुर मारेर सडकमा छाडिदिन्थ्यो । त्यो क्रम अहिले घटेको छ । र यस्ता कुकुरहरुलाई कतिपय ठाउँमा बन्ध्याकरण पनि गरिरहेको छ । यसपटक पनि यसका नाममा कतिपय ठाउँमा बजेट राखिएको छ ।

प्रदेश सरकारकै कुनै कार्यालयले बन्ध्याकरणका लागि ६ लाख रुपैयाँ राखेको केही दिन अघि प्रकाशित रातो किताबमा थियो । मैले सामुदायिक कुकुरको सन्दर्भ किन उठाउन खोजेको भने केही दिन अघि विराटनगर महानगरपालिकाको कुनै जनप्रतिनिधिले सडकमा छाडिएका बाख्रा व्यवस्थापन र दुर्घटना न्यूनिकरणको विषयमा सामाजिक सञ्जालमा लेखेको देखेको थिए । वास्तवमा विषय सानो छ तर विराटनगरमा सामुदायिक कुकुरको समस्या विकराल छ । यसले दुर्घटना त बढाएकै छ, रातीको समयमा मानिसहरु साना सवारी साधन लिएर हिड्न नसक्ने अवस्था छ ।

सहरका भित्री गल्लीहरुमा राती मोटरसाइकल वा अरु साधन लिएर हिड्न निकै गाह्रो पर्छ । साना नानीहरुलाई दिउँसो नै ओल्लो घरदेखि पल्लो घरसम्म या छेउछाउका साना खाली ठाउँमा खेल्न पठाउन वा खेल्न जान गाह्रो छ । स्रोतको अत्यन्तै कमजोर अवस्था भएको विराटनगरमा यो विषयमा गहन ढंगले छलफल हुन सकेको छैन् । हामीले खुल्ला दिशा मुक्त सहर र गाउँ घोषणा गरिरहँदा सामुदायिक कुकुरहरुले गर्ने सौंचले ठुलो असर पारिरहेको छ । हेर्दा सानो तर विकराल अवस्थाको कुकुरको समस्या छ ।

यसअघि विराटनगरमा एकदेव अधिकारी कार्यकारी प्रमुख हुँदा कुकुरका विषयमा छलफल चलेको थियो । यि कुकुरलाई कुनै एक ठाउँमा भेला गरेर राख्ने तर त्यो सम्भव भएन । अहिले पनि विराटनगरका हरेक वडामा ५ सय देखि हजारसम्म यस्ता कुकुर रहेको अनुमान गर्न सकिन्छ । त्यतिखेर मात्रै विराटनगरमा १० हजारभन्दा बढी कुकुर रहेको अनुमान थियो । विराटनगरका यावत समस्या छन् । यो सबैले बुझेको छ । यो विषयलाई पनि महानगरपालिकाले पनि राम्ररी बुझ्नु जरुरी छ । सहरलाई सुन्दर र बस्न योग्य बनाउनका लागि पनि कुकुरहरुको व्यवस्थापन गर्न जरुरी छ । घरमा सोखका लागि कुकुर पाल्ने र विहानै सडकमा लयाएर कुकुरलाई शौंच गराउनेहरुले पनि शौंचको व्यवस्थापनसहित कुकुर पाल्नुपर्छ ।

कतिपय संस्थाले यसको व्यवस्थापनका लागि काम पनि गरिरहेका छन् । बन्ध्याकरणदेखि रेविजको सुई समेत लगाउने गरेका छन् । तर यो प्रभावकारी र गतिशिल छैन् । कुनै संस्थाले बन्ध्याकरण गरेको डाटा नगरपालिकामा पेश गर्यो भने कहाँ गएर भेरिफाई गर्ने ? त्यसो हुँदा यसका लागि छुट्टिएका साना रकम पनि दुरुपयोग हुने सम्भावना छ । आज मैले उठाएको विषय हेर्दा सुन्दा सामान्य लागेपनि विराटनगरको सुन्दरता र दुर्घटना न्यूनिकरणका लागि सामुदायिक कुकुरको व्यवस्थापन एउटा महत्वपूर्ण पाटो हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार