Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा बाढीले बगाउँदा एकको मृत्यु, सयौं घर विस्थापित


  • Purbeli Press
  • मंगलबार, असार १४ २०७९

विराटनगर : मोरङको सुन्दरहरैँचामा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

सुन्दरहरैँचा वडा नम्बर ६ मा गछिया खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको हो ।

खोलाले बगाउँदा सोही ठाउँका ५८ वर्षीय रामबहादुर बिकको मृत्यु भएको छ । खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा उनलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै विराटनगर महानगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका सयौं घरपरिवार डुबानमा परेका छन् । उनीहरूलाई प्रहरीले उद्धार गरिरहेको छ ।

विराटनगरको सिंघिया र केशलिया नदिमा आएको बाढी गाउँ पसेपछि यहाँका करिब १५ सय घरपरिवार डुबानमा परेका हुन् ।

मोरङका खोला आसपासमा रहेका पालिकाहरु बाढीको उच्च जोखिममा छन् । मोरङको विराटनगरसहित  सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका विभिन्न बस्तीमा बाढीले डुबानमा पारेको छ ।

बाढी जोखिममा परेका पालिकाहरुले उद्धार र राहतको कार्यलाई तिव्र बनाएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार