Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर विमानस्थल : पीडित संघर्षमा, सरकार १० लाख छुट्याउँदै


  • Purbeli Press
  • शनिबार, असार ११ २०७९

विराटनगर : विराटनगरका आम नागरिकले विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउनुपर्ने माग गर्दै आएपनि त्यसप्रति सरकार उदासिन देखिएको छ ।

संघीय सरकारले कुनै चासो नदिएपछि प्रदेश सरकारको मुख ताकेका स्थानीयले प्रदेश सरकार पनि उदासिन देखिएको आरोप लगाएका छन् ।

प्रदेश पर्यटन बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीले विराटनगर विमानस्थलका लागि सरकार उदासिन देखिएको बताए । उनले सरकारले विमानस्थल स्तरोन्नतिका लागि काँहीबाट पहल नहुनु दुखद भएको बताए ।

अघिल्लो प्रदेश सरकारले नै मुआब्जा दिएर विमानस्थल स्तरोन्नति गर्ने घोषणा गरेको परिप्रेक्ष्यमा यसपटक प्रदेश सरकारले यसप्रति संवेदनशिलता देखाएको छैन् । विराटनगर विमानस्थलको विस्तार र अन्य छलफल जोडेर प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालयले १० लाख बजेट विनियोजन गरेको छ । यसअघि पटकपटक यसका विषयमा चर्चा परिचर्चा छलफल र योजना वनिसकेको अवस्थामा फेरी छलफल भनेर १० लाख बजेट छुट्याउनु हास्यास्पद भएको पर्यटन व्यवसायीले बताएका छन् ।

केहीदिन अघि विराटनगरका पर्यटन व्यवसायी पुन्य भट्टराईले सामाजिक सञ्जालमार्फत विमानस्थलमा बजेट नछुट्याइएकोमा आक्रोस व्यक्त गर्दै सरकारका मन्त्रीलाई असन्तुष्टि समेत पोखेका थिए ।

यता विराटनगर विमानस्थल विस्तारका लागि जग्गा रोक्का गरेर सरकारले मुआव्जा नदिएपछि पीडितहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु केही दिनदेखि विराटनगरमा सडक संघर्षसमेत गर्दै आएका छन् ।

मुआव्जा नपाएपछि आन्दोलनमा उत्रिएका विराटनगरबासी

प्रतिक्रिया
सम्बन्धित समाचार