Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रोपाइँ सुरु भइसक्दा पनि किसानले अझै मल पाएनन्


  • Purbeli Press
  • बिहिबार, असार ९ २०७९

विराटनगर : बिहिबार बिहानैबाट रासायनिक मल लिन इटहरा कृषि सहकारी संस्था परिसरमा किसानको घुइँचो लागेको छ । किसानले सानो परिमाणमा डीएपी पाएका छन् । युरिया मल भने पाएका छैनन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन विराटनगरले सहकारी संस्थाहरूलाई थोरै परिणाममा मल उपलब्ध गराएको छ । मल अपुग भएपछि वितरणमा समस्या भएको कृषि सहकारी इटहराका सदस्य दुर्गा गौतमले बिएल नेपाली सेवासँग बताए । गौतमका अनुसार सहकारीले आज ९४ बोरा डिएपी मल वितरण गरेको छ । मल प्रतिकेजी ५० रुपैयाँका दरले बिक्री गरिएको हो ।

एक बोरा डिएपि मललाई २५ सय तिर्नुपर्छ । त्यसका लागि पनि ४/५ घण्टा लाइन बसेर बल्ल २५ केजी मल पाइन्छ ।

‘हामी किसानलाई जहिले पनि मल चाहिएका बेलामा यस्तै दुःख हुन्छ’, रतुवामाई ९ इटहरा एक किसानले कृषि सहकारी संस्था लिमिटेबाट ठेलमठेल गर्दै २५ केजी मल खरिद गरेपछि गुनासो गरे ।

मल लिन इटहरा आएका सहकारी आसपासका किसान सबैैको यस्तै गुनासो छ । खेतमा लगाएको धानको बिउ रोप्ने बेला भएको छ । मल नहाली बिउ राम्रो आउँदैन तर यहाँका किसानले चाहेको बेला भने कहिल्यै मल उपलब्ध हुन सकेको छैन् ।

बिहिबार इटहरामा मल लिन आएका किसानहरुको लाइन / तस्बीर सौजन्य : रिया घिमिरे

कति ठाउँमा त किसानहरुले मल विनै रोपाई गरिसकेका छन् । समयमै मल हाल्न नपाए कम उत्पादन हुने किसानहरुको गुनासो छ ।

धानखेतीका लागि नभई नहुने रासायनिक मल अभाव खेपिरहे पनि खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको छ । रोपाईको समय सुरु भइसक्दा पनि मल कुरेर बस्नु भन्दा समयमै धान रोप्न थलेको रतुवामाईका राम ताजपुरियाले बताए ।

‘सरकारले मल खरिदका लागि ठूलो बजेटका छुट्याएको खबर सुनिन्छ, मल नै मागे जति आएन भनेको पनि सुनिन्छ, किसानलाई मल दिन्छौँ भनेर दायित्व लिएर माथि पुगेका नेताले किसानलाई बिर्से पछि फेरि किसानकै कुरा उठाउँदा अप्ठ्यारो लाग्नुपर्ने हो ।’ रतुवामाईका अर्का किसान सुभाष रेग्मीले भने, ‘ कृषि प्रधान भनिने देशमा किसानका समस्या नबुझ्ने सरकार हुनु र नहुनुमा के फरक छ र ?’

प्रदेश १ मा केही दिन अघि मात्रै चार हजार ६४ मेट्रिकटन डीएपी मल आएको थियो । कृषि मन्त्रालयका अनुसार प्रदेशका १४ वटै जिल्लामा पठाइएको छ ।

मन्त्रालयका अनुसार मोरङमा १,२५७, सुनसरीमा ८५०, धनकुटामा ८०, भोजपुर ८०, संखुवासभामा ८०, तेह्रथुममा ८०, खोटाङमा ४०, ओखलढुंगामा ३०, उदयपुरमा ९०, इलाममा १००, सोलुखुम्बुमा २०, झापामा ८५०, पाँचथर ७० र ताप्लेजुङमा ३० मेट्रिकटन मल पठाइएको छ ।

धान रोप्ने सिजनमा प्रदेशमा १ लाख ४७ हजार मेट्रिक टन युरियाको माग रहेको प्रदेश १ भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार